Headline

श्रीलंका माथि सहज जीत निकाल्दै शृंखलामा भारतको कब्जा 

Published

on

श्रीलंका बिरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा सहज जीत निकाल्दै भारतले तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ ।
पहिलो खेल वर्षाका कारण रद्ध भएको शृंखलाको बाँकी दुई खेलमा जीत निकाल्दै भारतले तीन खेलको शृंखला २-० ले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
शृंखला बराबरी गर्नका लागि २०२ रनको विशाल योगफल लिएर ब्याटिङमा आएको श्रीलंकाले १५ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो ।
भारतको जीतमा शार्दुल ठाकुर, नवदिप साइनी र वाशिंगटन सुन्दरले समान २-२ विकेट हात पारे भने जस्प्रित बुम्राले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।
श्रीलंकाले २६ रन बनाउँदा आफ्नो शुरुवाती चार विकेट गुमायो । त्यस पछि ब्याटिंग गर्न आएका एन्जेलो म्याथ्युज र धनन्जय डी सिल्भा पाँचौ विकेटका लागि ६८ रनको शाजेदारी गरे । तर ३१ रन बनाएका म्याथ्युज आउट भए पछि श्रीलंका खेलमा फर्कन सकेन । ३६ बलको सामना गर्दै ५७ रन बनाएका डी सिल्भा पनि साइनीको शिकार भए पछि श्रीलंकाले फराकिलो हार टार्न सकेन ।
यस अघि ओपनरद्वय शिखर धवन र केएल राहुलले अर्ध शतक प्रहार गरे पछि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको भारतले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा २०१ रन बनायो ।
भारतको तर्फबाट राहुलले सर्वाधिक ५४ रन बनाए भने धवनले ५२ रनको पारी खेले । समान ३६-३६ बलको सामना गरेका उनीहरुले पहिलो विकेटका लागि १० दशमलब पाँच ओभरमा ९७ रन जोड्दै भारतलाई तुफानी शुरुवात दिए ।
राम्रो शुरवात पाएता पनि २५ रनको अवधिमा चार विकेट गुमाएर दबाबमा परेको भारतको लागि त्यस पछि आएका ब्याट्सम्यानहरुमा कप्तान बिराट कोहली १७ बलमा २७ रन तथा अविजित रहेका मनिष पाण्डेले १८ बलमा ३१ रन तथा शार्दुल ठाकुरले आठ बलमा २२ रन जोड्दै भारतलाई २०० रन कटाउन मद्धत गरे ।
एक समय निकै विशाल योगफल तर्फ लम्केको भारतको पारी निरिह बनाउने क्रममा लक्षण सन्दाकनले सर्वाधिक तीन विकेट हात पारे । उनले नै राहुल र धवनको विकेट निकाल्दै भारतको तिब्र रन गतिमा केहि अंकुस लगाए ।
यस अघि इन्दोरमा भएको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले सात विकेटको सहज जीत हात पारेको थियो भने गुवाहिटीमा भएको पहिलो ट्वान्टी ट्वान्टी खेल वर्षाका कारण रद्ध भएको थियो ।

Click to comment

Trending