Headline

इपिएलको बिदेशी खेलाडीलाई लिएर कडा प्रावधान, पिपिएल, डिपिएल खेलका बिदेशीले खेल्नै नपाउने

Published

on

आगामी मार्च १४ देखि २८ सम्मका लागि तय भएको एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणका लागि आयोजक इपिएल प्राइभेट लिमिटेडले बिदेशी खेलाडीको हकमा कडा प्रावधान कायम गरेको छ ।
बिहिबार इपिएलले दिएको जानकारी अनुसार सन् २०१८ को एभरेष्ट प्रिमियर लिग र यो बर्ष हुन गइरहेको कुनै एभरेष्ट प्रिमियर लिगकोबीचमा अन्य कुनै पनि ट्वान्टी ट्वान्टी लिग खेलेका बिदेशी खेलाडीहरुले चौथो संस्करणमा भाग लिन पाउने छैनन् । यसको मतलब पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा खेलेका कुनै पनि बिदेशी खेलाडीले इपिएलमा सहभागित जनाउन पाउने छैन ।
इपिएलले दिएको जानकारी अनुसार बिदेशी खेलाडीहरुले इपिएल मात्र खेल्नुपर्नेछ भने बिदेशबाट नेपालमा खेल्नका लागि घरेलु बोर्डबाट स्विकृति लिएर आउनुपर्नेछ । यसअघि इपिएलले हरेक फ्रान्चाइजले कम्तिमा पनि एक जना बिदेशी खेलाडी टेस्ट राष्ट्रबाट आउनुपर्ने बताएको थियो ।
यो सँगै नेपाली लिगमा जमेर बसेका बिदेशी खेलाडीहरु सन्नी पटेल, गौरव तोमर, जयकिशन कोल्सावाल, सुबोध भाटी, हङ्गकङ्गका बाबर हायात र युएईका कप्तान रोहन मुस्तफाले पनि इपिएलमा खेल्न नपाउने भएका छन् । सन्नी, गौरव र कोल्सावालाको उत्कृष्ट प्रदर्शनपछि नै ललितपुर पेट्रियट्सले गत सिजनको इपिएल जितेको थियो ।
सन्नी र कोल्सावालको प्रदर्शन सिवाईसी अत्तरियाले डिपिएलको उपाधि जित्दा पनि महत्वपूर्ण रहेको थियो । यस्तै बाबर र मुस्तफको उच्च प्रदर्शनले पनि चितवन राइनोजले भर्खरै यो सिजनको पोखरा प्रिमियर लिगको उपाधि जितेको हो । मुस्तफा त पिपिएलको म्यान अफ द म्याच नै भएका थिए । इपिएलमा बाबर पारस खड्काको बिराटनगर वारियर्स र मुस्तफा सोमपाल कामीको काठमाडौं किंग्स एलेभेनबाट एपिएल खेल्ने गर्छन् ।
यस्तै यो सिजन ए क्याटेगारीमा रहेका खेलाडीहरुको किनबेच गर्ने प्रावधान पनि राखिएको छ । ए क्याटेगोरीमा राष्ट्रिय टोलीमा खेलिरहेका र खेलिसकेका १८ जना खेलाडीहरु रहेका छन् ।
इपिएलको प्राविधिक कमिटीले ए क्याटेगोरीका खेलाडीहरु उनीहरुले हालै गरेको प्रदर्शनको आधारमा राखिएको जनाएको छ । किनबेचका लागि हरेक ए क्याटेगोरीका खेलाडीहरुको आधार मुल्य दुई लाख रुपैया राखिएको छ । आधार मुल्यभन्दा माथि खेलाडी गरिद गरिएमा त्यसको ६० प्रतिशत खेलाडीलाई र ४० प्रतिशत बेच्ने फ्रान्चाइजे तय गरिएको छ ।
खेलाडी किनबेचका लागि लागि विन्डो भने बिहिबार देखि जनवरी ९ सम्मका लागि तय गरिएको छ । खेलाडी किनबेच भने हुनैपर्ने व्यवस्था भने छैन । इपिएल प्राइभेट लिमिटेडले क्यानसँगको छलफलपछि नै प्रतियोगिताका लागि नया मिति तय गरेको हो ।
बेचिएका ए क्याटेगोरीका खेलाडीहरु त्यही क्याटेगोरीकै खेलाडीहरुबाट साट्टिनुपर्ने भने छैन । खेलाडीहरुको किनबेच प्रावधान यो सिजनको लागि मात्र राखिएको हो ।

Click to comment

Trending