Headline

रोकियो थ्री स्टारको बिजय यात्रा, आर्मीको उत्कृष्ट प्रदर्शन

Published

on

नवयुग श्रेष्ठको दर्शनीय एक्रोब्यटिक सट र सन्तोष तमाङको उत्कृष्ट फ्रि किकको मद्दतमा त्रिभुनवन आर्मी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा थ्रि स्टारलाई २–० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा पहिलो मिनेट देखि नै आक्रमक प्रदर्शन गरेको आर्मी उत्कृष्ट लयमा देखिएको थियो । नवयुगले दिएको पासमा भरत खवासले गरेको प्रहार बचाउन थ्री स्टारका गोलरक्षक प्रिसोले पहिलो मिनेटमै कसरत गर्नुपरेको थियो ।

१२ औ मिनेट मा थ्री स्टारका रुपेश केसीले तीन खेलाडीलाई बिट गर्दै गरेको उत्कृष्ट प्रहार युद्ध शाहीको खुट्टामा लागि कर्नर हुन पुगेको थियो । त्यसपछि आर्मीका लागि नवयुग र जर्ज प्रिन्स कार्कीले एक–एक वटा अवसर खेर फालेका थिए । भरतको अर्को प्रहारलाई गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे ।

४१ औ मिनेटमा अफसाइड ट्रयाप बिट गर्दै नवयुगले दिएको पास जर्ज प्रिन्स कार्कीले भेटाए । खेलकै उत्कृष्ट मानिएको उक्त मुभमा प्रिन्सले भरतलाई बल दिए तर त्यसमा उनी चुक्न पुगे ।

५१ औ मिनेटमा थ्री स्टारका अनन्त तमाङले गरेको गल्तीलाई नवयुगले वान भर्सेस वानमा गोल गर्न चुकेका थिए । ५५ औ मिनेट भरत खवासले दिएको क्रस बलमा नवयुगले एक्रोब्यटिक सटमा गोल गर्दै आफ्नो पुरानो गल्ती सच्याउन सफल भएका थिए ।

गोल खान पुगेपछि थ्री स्टार लगतार दबाबमा परेको थियो । ७९औं मिनेटमा सुमन अर्याललाई अशोक खवासले लडाए बापत पाएको फ्रि किकमा सन्तोष तमाङले बललाई उत्कृष्ट ढंगले घुमाउदै जाली चुमाएका थिए । इन्जुरी समयमा आर्मीका बिकास तमाङले बल ह्यन्ड गर्दै थ्री स्टारले पेनाल्टी पएको थियो । रुपेशले हानेको पेनाल्टीलाई गोलकिपर बिकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए ।

सुमनले जोगाए संकटाबिरुद्ध पुलिसको नाक

बिभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबमाथि २–१ को जित निकाल्यो । पुलिसका लागि सुमन लामा नायक बने । दुवै गोल उनले नै गरेका थिए । खेलको १५ औं मिनेटमा सुमनले पुलिसलाई अग्रता दिलाए । गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दाको अवस्थामा सुमनको ट्यापिङ प्रहार गोलमा परिणत भएको थियो ।

तर पुलिसको त्यो अग्रता भने लामो समय टिकेन । तीन मिनेट पछि नै संकटाले पेनाल्टी मार्फत गोल फर्कायो । पुलिसका अजित भण्डारीले पेनाल्टी बक्समा ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई अमितले गोलमा परिणत गरेका थिए ।

३३ औं मिनेटमा सुमनको अर्को गोलबाट पुलिसले २–१ को अग्रता लिएको थियो । प्रवेश कुँवरको क्रसमा सुमनले वान भर्सेस वानमा गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा भने दुवै टोलीले उत्तिकै प्रयास गरेपनि गोल भने हुन सकेको थिएन । ६० औं मिनेटमा प्रल्हाद रोयको प्रहार पुलिसका गोलरक्षक शत्रुघन चौधरीले मुस्किलले बचाए । ७१औं मिनेटमा सुमनको क्रस पासलाई सौजन राईले पेनाल्टी बक्समा भेट्न सकेनन् ।

८३औं मिनेटमा अमितको प्रहारलाई गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए । रिवाउन्डमा दिपेश आलेमगरले प्रयास गरेपनि डिफेन्डरले क्लियर गरिदिए ।

८२ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पेनाल्टी बक्स बाहिरको प्रहार आकाशियो । ८६ औं मिनेटमा भोला सिलवालको कर्नरमा पुलिसका कप्तान सुमन सुवेदीको हेडर गोलरक्षक बिनय श्रेष्ठले पञ्च गर्दै बचाए । जितसँगै पुलिसले लिगमा ७ अंक बनाएको छ भने हार पछि संकटा ४ अंकमा सिमित भएको छ ।

Click to comment

Trending