Headline

दिपेश चम्केपछि एम एम कपको पहिलो खेलमा प्रदेश १ बिजयी

Published

on

बाया हाते स्पिनर दिपेश कंडेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएपछि प्रदेश १ ले एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ ।

इनरुवा रंगशालामा बिहिबार भएको खेलमा प्रदेश १ ले प्रदेश ५ लाई सानो योगफलका बावजुद ६८ रनको फराकिलो अन्तरले पराजित ग¥यो । समुह सि अन्तर्गतको खेलमा टस जिति पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ३१ दशमलव २ ओभरमा १ सय २० रनमै अल आउट हुन पुग्यो । तर दिपेशले घातक बलिङ्ग गर्दै आफूले गरेको सात ओभरमै ६ विकेट लिएपछि प्रदेश ५ १८ ओभरमै ५२ रनमै अल आउट हुन पुग्यो ।

मृनाल गुरुङ्गलाई पहिलो ओभरको पहिलो बलमै मुकुन्द यादवले बोल्ड गरेपछि दिपेशले प्रदेश ५ को ब्याटिङ्गलाई ध्वस्त पारेका थिए । उनले त्यसपछिका ६ विकेट लिएका थिए । अर्को ओपनर बिराट भण्डारीले प्रदेश ५ का लागि सर्वाधिक २८ रन बनाए । ३४ बलको सामना गरेका उनले चार चौका प्रहार गरे ।

बिशाल बिक्रम केसी (१२) प्रदेश ५ को लागि दोहोरो अंकमा रन बटुल्ने एक मात्र ब्याट्स्म्यान रहेका थिए । मुकुन्द र मनो तामाङले पनि प्रदेश १ का लागि दुई दुई विकेट लिए । म्यान अफ द म्याच दिपेशले २० रनमात्र खर्चदै एक मेडन पनि राखेका थिए ।

दिपेशको प्रदर्शनले प्रदेश ५ का लेग स्पिनर बिक्रम कुमार भुषालको पाँच विकेटको प्रदर्शनलाई पनि आझेलमा पारेको थियो । ५२ रनमै ६ विकेट गुमाएको प्रदेश १ लाई दिपेश र फिर्दोस अन्सारीले ४९ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तर्फ धकेलेका थिए ।

फिर्दोसले २३ र दिपेशले २२ रन बनाए । यस्तै कप्तान पुष्प थापाले पनि २२ रनको योगदान दिएका थिए । बिक्रमले ८ दशमलव २ ओभरमा २४ रन खर्चदै पाँच विकेट लिए । उनले दुई मेडन पनि राखेका थिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार प्रदेश ५ र प्रदेश ३ भिड्नेछन् । १२ टोलीको सहभागित रहेको लिग कम नकआउट प्रतियोगितामा मलेशियन टोलीले पनि भाग लिएको छ ।

Click to comment

Trending