Trending

बालोन डि ओरः कस्ले मार्ला त बाजी?

Published

on

फुटबल जगतको लोकप्रिय अवार्डमध्येको बालोन डि ओरको लागि यस वर्षको दौड निकै रोचक बन्दै गएको छ । १० वर्ष लगातार उत्कृष्ट खेलाडीको अवार्डमा दबदबा कायम गरेका फुटबलका दुई हस्ती मेस्सी र रोनाल्डोलाई पछि पार्दै गत वर्ष क्रोएसियन फुटबलर लुका मोड्रिचले बाजी मारेका थिए । बालोन डि ओर व्यक्तिगत प्रदर्शनका आधारमा दिइने अवार्ड भए पनि मेस्सी र रोनाल्डोको दबदबा कारण बेला बेलामा यसको औचित्य माथि प्रश्न उठ्ने गर्दछ । यस बर्षको अवार्डका लागि हामीले उत्कृष्ट पाँच खेलाडी र उनीहरुको प्रदर्शनलाई नियाल्ने प्रयास गरेका छौं । कस्तो छ त यी पाँच खेलाडीहरुको प्रदर्शन ?

१. मेस्सी
अन्तर्राष्ट्रिय फुटबलमा धेरै प्रख्यात नाम हो अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेस्सीले यो सिजन ४९ खेलमा ५१ गोल गर्नुका साथै १९ असिष्ट पनि गरेका छन् । ला लिगा जितेका मेस्सी स्पनिस लिगका उच्च गोलकर्ता र असिष्टकर्ता पनि हुन् । उनले किर्तिमानी ६ पटक युरोपियन गोल्डेन बुट पनि जितेका छन् । २०१९ को सिजनमा उनको नाममा ३६ गोल रहेको छ, त्यो पनि ला लिगामा मात्रै ।
त्यस्तै च्याम्पियन्स लिगमा १२ गोलसहित उनि नै सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । च्याम्पियन्स लिगमा सेमीफाइनल सम्मको यात्रा तय गर्दा मेस्सी ६ खेलमा म्यान अफ द म्याच घोषित  भएका थिए । कोपा डेल रे को फाइनल मा भ्यालेन्सियासँग स्तब्ध भए पनि उनको व्यक्तिगत प्रदर्शन भने सिजनभरि नै उच्च रह्यो। उनको खेल शैली एवं खेलमा उनले पार्ने प्रभाव हेर्ने हो भने मेस्सीको नजिक कुनै पनि खेलाडी पुगेको देखिदैन । त्यसैले उनि यस अवार्डको नं एक दाबेदार हुन् ।

२. भर्जील भान डाइक
भान डाइक लिभरपुलका विश्वस्तरीय उत्कृष्ट डिफेन्डर भएको कुरा फुटबल प्रेमीमाझ नयाँ होइन । भान डाइकको आगमन पछि लिभरपुलको खेल शैलीमा नै फरक देखिाएको थियो । च्याम्पियन्स लिगको सेमीफाइनलमा बार्सिलोनालाई धुलो चटाएर फाइनलमा टोटनह्यामलाई पराजित गर्दै उपाधि जितेपछि भान डाइकको कद अझै उचो भएको छ । यो वर्षको प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएकाले गर्दा पनि उनले बलोन डि ओर जित्ने आंकलन गर्न सकिन्छ । लिगको अंतिम खेलसम्म पनि लिभरपुल उपाधि दौडमा कायम रहनुमा लिभरपुलको रक्षपंिक्तको प्रमुख भूमिका रहेको थियो । भान डाइक त्यसकै केन्द्रमा रहने खेलाडी बन्न पुगेका थिए । व्यक्तिगत र टिम प्रदर्शन राम्रो भएकै कारण उनलाई पनि दावेदारको रुपमा हेरिएको छ ।
३. मोहम्मद सलाह
इजिप्सिएन स्टार र लिभरपुलका आक्रमक खेलाडी सलाह यो वर्षको प्रिमियर लिग गोल्डेन बुट विजेता हुन् । लिगमा २२ गोल गरेका उनले च्याम्पियन्स लिगमा ५ गोल गरेका छन् । यो वर्षको च्याम्पियन्स लिगको उपाधि चुमेकाले पनि सलाहको बलोन डि ओर जित्ने सम्भावना देखिन्छ । तर यो सीजन त्यति प्रभावशाली देखिन नसकेका सलाह आफ्नै टीम मेट भान डाइक को छांयामा परेका छन् ।
४. केलियन एम्बाप्पे
फ्रान्सका प्रख्यात फरवार्ड केलियन एम्बाप्पेपनि यो सिजनको बलोन डि ओरको दौडमा छन् । यो सिजन ४० गोल गरेका यी युवा खेलाडीले युरोपियन गोल्डेन बुटको रेसलाई मेस्सी सँगसँगै अन्तिम खेलसम्म लम्ब्याएका थिए । लिग वान र घरेलु कप विजेता एम्बाप्पेको यो सिजन उनको अहिले सम्मकै उत्कृष्ट व्यक्तिगत सिजन मान्न सकिन्छ । यो वर्ष बालोन डि ओर जिति हाल्न नसकेपनि आउँदो भविष्यमा कुनै सिजन यी युवा खेलाडीको हातमा बालोन डी ओर देख्न पाउने सम्भावना प्रचुर छ ।
५. क्रिस्चियानो रोनाल्डो
विश्व जगतमा मेस्सी जत्तिकै सुनिने नाम हो रोनाल्डो । पोर्चुगिज फुटबलर रोनाल्डो यही सिजन स्पेनिस क्लब रियल म्याड्रिड छोडेर इटालीको युभेन्टसमा आबद्ध भएका थिए । रोनाल्डो सिरी ए का उत्कृष्ट खेलाडी घोषित पनि भए । यो सिजन कुल २८ गोल गरेका रोनाल्डोलाई पनि बालोन डि ओरको दौडमा छैनन भन्न नै मिल्दैन । सिरी ए उपाधि जितेका रोनाल्डोले आफूले आफूलाई इंग्ल्याण्ड, स्पेन र इटालीमा प्रमाणित गरिसकेका छन् । यस पटक च्याम्पियन्स लिगमा एथ्लेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गरेर एक्लैले खेलको नतिजा बदल्नुनै उनको सम्झिन लायक खेल रहेको थियो । हुन त युभेन्टसलाई लिग जिताउन उनको एकदमै उच्च योगदान छ । युभेन्टसको उच्च गोलकर्ता को रूपमा पनि रोनाल्डो नै अगाडि आए ।

Click to comment

Trending