१३औं दक्षिण एसियाली खेलकुद

साग त एउटा बहाना मात्रै हो

Published

on

आदर्श ढकाल, काठमाडौं

२० बर्षपछि नेपाल एक पटक फेरि खेलकुदको माहोलमा भिज्दै छ । सन् १९९९ मा दक्षिण एसियाको खेलकुदको महाकुम्भको सफलतापुर्वक आयोजना गरेपछि नेपालले फेरि एक पटक यस क्षेत्रको ओलम्पिकका लागि आफूलाई तयार गरेको छ ।

सन् २०१५ को महाभुकम्पपछि ध्वस्त भएका अधिकांश खेलकुद संरचनाहरुलाई चुस्त दुरुस्त बनाउदै नेपाललाई साग आयोजना गर्नुपर्ने ठूलै चुनौति थियो । चार बर्षको समय नेपालमा रहेका जस्ता खेलकुद संरचना तयार गरेर देखाउन बिकसित राष्ट्रहरुका लागि कुनै चुनौति होइन ।

१३ औं संस्करणको पुर्वसन्ध्यामा रँगशाला बन्दै गर्दा पनि, पोखरा रँगशालाले अझै पुर्ण रुप नपाएपनि र सातदोबाटोको हिटिङ्ग सिस्टम सहितको स्विमिङ्ग पुल पाँच तारिख देखि शुरु हुने स्विमिङ्ग प्रतियोगिताका लागि तयार हुन संघर्ष गर्दा गर्दै पनि नेपालले आइतबार एक भब्य समारोहकाबीच आफू सागका लागि तयार भएको सन्देश दिएको थियो ।

आइतबार सम्पन्न उद्घाटन भन्दा अगाडी दशरथ रँगशाला पुगेका सहभागि बिभन्न देशका पत्रकारहरु नेपालको तयारीका बारेमा रिपोर्टिङ्ग गर्ने रस्सा–कस्सीमा लागेका थिए । ती मध्ये एक बङ्गलादेशी पत्रकारले सोधेः “यहाँ त अहिलेसम्म काम भइरहेको रहेछ त ? मलाई यथार्थ जे हो त्यही भन्दिनुस न ।”

यथार्थ ? कसरी भन्ने यथार्थ ? कसरी भन्ने चार बर्षको समय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले यो जिम्मेवारीलाई लिएर कसरी प्रतिक्रिया जनाए ? कसरी भन्ने यो समयमा नेपालमा चार प्रधानमन्त्री, तीन खेलकुद मन्त्री र दुई सदस्य सचिव थिए ?

यस क्रममा रँगशाला मर्मत गर्ने बिषय र सागको सफल आयोजनाको लागि देखाउनु पर्ने तदारुकताका लागि खेलकुदको नेतृत्व र सरकारबीच कस्तो छलफल शायद कमैलाई जानकारी होला । नेपाली जनताले त झन आइतबारको आतिशबाजी मात्र देखेका छन् ।

अंग्रेजीमा “अल्ज वेल द्याट एण्ड्स वेल ” भनेझै एउटा कुरा के पक्का भएको छ भने रातदिनको अथक प्रयासपछि नेपाल सफल भएको छ ।
अहिलेसम्मकै सर्वाधिक ठूलो दक्षिण एसियाली खेलकुद बन्न गइरहेको १३ औं संस्करणमा नेपालले ७ देशका खेलाडी र पदाधिकारी सहित ७ हजार जनाको आतिथ्य गरिरहेको छ ।

काठमाडौंसँगै दक्षिण एसियाली खेलकुदको ज्वरो पोखरालाई पनि लागिसकेको छ । १४ हजार दर्शक क्षमताको पोखरा रँगशालामा महिला फुटबल हुदैछ भने त्यही रहेको अर्को मैदानमा महिला क्रिकेट हुनेछ । पोखरामै ह्याण्डबल, ब्याडमिन्टन, भारत्तोलन, ट्रायथ्लन, बिच भलिबल र आर्चरी पनि हुनेछ । जनकपुरमा कुस्ती अन्तर्गतका खेलहरु हुनेछन् ।

तर नेपालको लागि १३ औं दक्षिण एसियाली खेलकुदले आयोजना भन्दा बढी महत्व राखेको छ । कुनै पनि खेलकुदको महाकुम्भ आयोजनाले देशले गरेको प्रगतिलाई मापन गर्छ ।  २० बर्षपछि दक्षिण एसियाली खेलकुदको आयोजना गरेर नेपालले २१ औ शताब्दीमा आफूलाई दक्षिण एसियाका अन्य राष्टहरुसँग आफू पनि काँधमा काध मिलाएर हिड्न सक्षम रहेको सन्देश दिएको छ । संघर्ष गर्नै परेपनि किन नहोस नेपाल समृद्धिको बाटो तर्फ अघि बढीरहेको छ ।

चार बर्षअघि भुकम्प गएपछि नेपाली खेलकुदमा संरचनागत रुपमा शुन्यमा झरेको थियो । शुन्यबाट नेपाल सागको आयोजनापछि एकमा हिडिरहेको छ । सागको आयोजनापछि नेपालमा अहिले तीन वटा अन्तर्राष्ट्रिय स्तरकै रँगशाला रहेको छ – काठमाडौं, पोखरा र नेपालगञ्जमा । यी तीनै शहरमा संयुक्त रुपमा खेल आयोजना हुने भने एकै पटक ३८ हजार दर्शकले प्रत्यक्ष मैदानबाटै हेर्न पाउनेछन् ।

सागको आयोजनाकै लागि नेपालले हिटिङ्ग सिस्टम सहितको स्विमिङ्ग पुल पाएको छ । नेपाली स्विमरहरुलाई प्रशिक्षणका लागि अब गर्मि मौसम नै कुर्नु पर्छ भन्ने छैन । आठौं राष्ट्रिय खेलकुद आयोजना हुँदा नेपालगञ्जमा १० हजार क्षमताको रँगशाला र त्यही अर्को स्तरीय स्विमिङ्ग पुल पनि तयार गरिएको छ । सागका लागि केही नयाँ पुर्वाधारको पनि निर्माण भएको छ भने केही लागि राम्रो जग बसेको छ । अब यसलाई पूर्णता दिनको लागि खेलकुदको नेतृत्वलाई थप चुनौति रहेको छ ।

साग नेपाली खेलकुद संरचनाको बिकासका लागि राम्रो बहाना बनेको छ । साग जतिसक्दो चाडो नेपालमै हुनु पर्ने थियो । के थाहा अब अन्य संरचना थपिन नेपाली खेलकुद, खेलकुदप्रेमी र खेलाडीहरुले अर्को भुकम्प नै कुर्नु पर्ने हो की ?

दक्षिण एसियाली खेलकुद नेपाली खेलाडीहरुका लागि आफ्नो स्तर मापन गर्ने राम्रो माध्यम हो । भारतले बिश्व खेलकुदमा एकपछि अर्को फड्को मार्दै ओलम्पिकमा पनि लगातार स्वर्ण पदक जिति सक्दा नेपाली खेलकुदको स्तर दक्षिण एसियामै बिस्तारै खस्कदै गएको छ । यसको उपयुक्त उदाहरण हो इण्डोनेसियामा एक बर्ष अगाडी भएको १८ औं एसियाली खेलकुद जहाँ मुलधारमा नै नभएको प्याराग्लाइडिङ्गले रजत पदक जितेर नेपालको लाज बचाउनु परेको थियो ।

प्याराग्लाइडिङ्ग २०२२ मा चिनमा हुने १९ औं एसियली खेलकुदमा हुनेछ वा छैन यो निश्चित नै छैन । प्याराग्लाइडिङ्ग नहुँदा कसले पदक जितेर लाज बचाइदिने त ? अन्य खेलहरुमा त नेपाली खेलकुदको नेतृत्वले त्यो स्तरसम्म भिड्न सक्ने खेलाडीहरुको उत्पादनमा वास्ता पनि गर्न छोडिसकेको छ ।

नेपालबाहेक दक्षिण एसियाका कुनै पनि राष्ट्रहरुले सहभागिता नै नजनाउने भएपछि प्याराग्लाइडिङ्ग यसपटक सागमा पनि समावेश हुन सकेन । तर साग भने नेपालमै भइरहेको छ । १९९९ को सागमा नेपालले ३१ स्वर्ण जित्दै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसपछि २०१६ को सागसम्म आइपुग्दा नेपाल तीन स्वर्णमा झरिसकेको थियो ।

खेलकुद महाकुम्भ आयोजना गर्दा आयोजक राष्ट्रले भरपुर फाइदा उठाउने गर्दछ । साग आयोजना गर्दा पछिल्लो केही समय खस्किदै आएको प्रदर्शनका कारण उत्पन्न भएको निराशालाई केही हदसम्म चिर्ने अवसर नेपाललाई छ । तर नेपालका लागि आयोजक मात्र नभई भ्रमणकारी राष्ट्रको रुपमा पनि उत्कृष्ट प्रदर्शन गरेर देखाउनका लागि चुनौति पनि उत्तिकै छ ।

Click to comment

Trending