Headline

बुटवललाई धुलो चटाउँदै पारसको चितवनले लगातार दुई खेल जित्यो

Published

on

बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिगमा लगातार दोश्रो जित हात पारेको छ ।

रोहन मुस्तफाले अलराउण्ड प्रदर्शन गर्दै बलिङ्ग र ब्याटिङ्ग दुवै तर्फ चम्केपछि चितवनले लगातार दोश्रो फराकिलो अन्तरको जित हात पारेको हो । यसअघि चितवनले शरद भेषावकरको पोखरा पल्टनलाई ५ विकेटले पराजित गरेको थियो ।

बिहिबार पोखरा रँगशालामा भएको खेलमा कप्तान पारस खड्का र रोहनले अद्र्धशतक प्रहार गरेपछि चितवनले पोखरा प्रिमियर लिग इतिहासकै बिशाल योगफल खडा गरेको थियो । टस हारि पहिलो ब्याटिङ्ग गरेको चितवनले २० ओभरमा तीन विकेट गुमाउदै २ सय ३ रन बनायो । जवाफमा बुटवलल १८ दशमलव चार ओभरमा ८४ रनमै समेटिएको थियो ।

ठूलो लक्ष्य पछ्याउनुपर्ने दवाबमा परेको बुटवल इनिङ्गसको शुरुवात देखि नै दवाबमा परेको थियो । १० रनमै तीन विकेट गुमाएको बुटवलका लागि भिम सार्की र शिभम सिँहले ३५ रनको साझेदारी गरेका थिए । त्यो नै बुटवलको इनिङ्गसको उच्च प्रदर्शन रहेको थियो ।

तीन छक्का र एक चौका प्रहार गरेका शिभमले ३३ बलमा ३३ रन बनाएका थिए । भिमले २१ बलमा २१ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । अन्य ब्याट्स्म्यानहरुले दोहोरो अंकमा रन बटुल्न सकेनन् । चितवनका लागि करण केसीले तीन दशमलव चार ओभरमा ११ रन खर्चदै चार विकेट लिएका थिए ।

कसिलो बलिङ्ग गरेका रोहनले तीन ओभरमा पाँच रन मात्र खर्चदै दुई विकेट लिएका थिए । यस्तै सन्नी पटेल, भुवन कार्की, बिक्रम सोब र बिक्रम कुमार भुषालले पनि एक–एक विकेट लिएका थिए ।

यसअघि चितवनले बिहिबारको खेलसँगै पोखरा पल्टनले बनाएको १ सय ९७ रनको किर्तिमानलाई तोडेको थियो । साबिक बिजेता पोखराले गत बर्ष पहिलो संस्करणको पहिलो खेलमा बिराटनगर टाइटन्सबिरुद्ध तीन विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो ।

चितवनका लागि किर्तिमानी योगफलको आधार पारस र रोहनले नै खडा गरेका थिए । पारस र रोहनले पहिलो विकेटका लागि एक सय १७ रनको बिशाल साझेदारी गरेका थिए । पारसले ४० बलमै ६ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाएका थिए । यस्तै रोहन ५७ बलमा ७४ रन बनाउदै नटआउट रहेका थिए । उनले सात चौका र दुई छक्का हिर्काए ।

आरिफ शेखले १९ बलमा ४० रको अकर्षक इनिङ्गस खेलेका थिए । उनले तीन छक्का र तीन चौका हिर्काए । राइनोजले आफ्नो पहिलो खेलमा पोखरा पल्टन र बुटवलले काठमाडौं गोल्डेन वारियर्सलाई हराएको थियो ।

Click to comment

Trending