Headline

रोहित र राहुलको शतकमा भारतको फराकिलो जीत

Published

on

रोहित शर्मा र केएल राहुलको शतकको मद्धतमा घरेलु टोली भारतले दोश्रो एकदिवशीय खेलमा वेस्ट इण्डिजलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो खेलमा आठ विकेटको पराजय भोगेको भारतले तीन खेलको शृंखला १-१ को स्थितीमा पुर्याएको छ ।

३८८ को विशाल लक्ष्य लिएर ब्याटिंगमा ओर्लिएको वेस्ट इण्डिजले ४३ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र २८० रन बनाउन सक्यो ।

आजको खेलमा जीत हात पार्दै शृंखला माथि कब्जा जमाउने दाउमा रहेको वेस्ट इण्डिजले मध्यम शुरुवात गर्यो ।११ ओभरमा ६१ रनको स्थितीमा ओपनर एविन लेविस (३५ बलमा ३० रन) लाई गुमाएको वेस्ट इन्डिजले त्यस पछि आएका शिम्रोन हेट्मेयर र रोस्टन चेजलाई समान ४-४ गुमायो ।

८६ रनमा तीन विकेट गुमाएको अवस्थमा ओपनर शे होप र निकोलस पुरणले वेस्ट इण्डिजको पारी सम्हाले । अर्धशतक प्रहार गरेका दुबै मिलेर चौथों विकेटका लागि १०६ रन जोड्दै वेस्ट इण्डिजलाई जीत तर्फ अग्रसर गराए । ४७ बलको सामना गर्दै आक्रमक ७५ रन बनाएका पुरण तथा ८५ बल खेल्दै सात चौका र तीन छक्काको मद्धतमा ७८ रन बनाएका होप आउट भए पछि अन्य ब्याट्सम्यानहरुको राम्रो योगदान पाउन नसक्दा वेस्ट इण्डिज फराकिलो हारको सामना गर्न बाध्य भयो ।

भारतलाई जीत दिलाउने क्रममा कुलदिप यादव र मोहम्मद शामीले सामना ३-३ विकेट हात पारे भने रविन्द्र जडेजाले पनि दुई विकेट लिए । कुलदिपले आफ्नो ह्यट्रिक पनि पुरा गरे । उनले ३२.४, ३२.५ तथा ३२.६ ओभरमा क्रमसः शे होप, जेसन होल्डर र अल्ज़ारी जोसेपको विकेट निकाल्दै एकदिवसीय खेल जीवनको आफ्नो दोश्रो ह्यट्रिक पुरा गरेका हुन् ।

यस अघि खेलमा खेलमा टस हारेर पहिले ब्याटिंग गरेको भारतले पुरै ५० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा ३८७ रनको विशाल योगफल खडा गर्यो ।

भारतको लागि ओपनरद्वय रोहित शर्मा र केएल राहुल दुबैले शतकिय पारी खेले । भारतको लागि सर्वाधिक रन बनाएका रोहितले १५९ रन प्रहार गरे । १३८ बलको सामना गरेका उनले १७ चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै एकदिवसीय खेलमा आफ्नो तेश्रो शतक प्रहार गरेका राहुलले १०४ बल खेल्दै आठ चौका र तीन छक्काको मद्धतमा १०२ रनको पारी खेले । शृंखलालाई बराबरीमा पुर्याउन आजको खेल जीत्नै पर्ने अवस्थामा रोहित र राहुलले पहिलो विकेटका लागि ३७ ओभरमा २२७ रनको शाझेदारी गर्दै भारतलाई विशाल योगफल तर्फ लग्न सफल भए ।

राहुलको विकेटको पतन पछि आएका कप्तान कोहलीले रनको खाता पनि खोल्न सकेनन् । गोल्डेन डकआउट भएका कोहली कैरन पोलार्डको शिकार भए ।

त्यस पछि आएका श्रेयस ऐयर र विकेट किपर ब्याट्सम्यान रिशब पन्तले भारतको पारी सम्हाले । चौथों नम्बरमा आएका श्रेयसले ३२ बलमा तीन चौका र चार छक्काको मद्धतमा ५३ रन जोडे भने पन्तले श्रेयस जती नै चौका र छक्का प्रहार गर्दै १६ बलमा ३९ रनको योगदान दिए । केदार जाधवले पनि १० बलमा अविजित १६ रन बनाए ।

तेश्रो तथा निर्णायक खेल आइतबार कटकमा हुनेछ ।

Click to comment

Trending