Headline

प्रतियोगिता अघि के भन्छन ए डिभिजन लिगका प्रशिक्षकहरु ?

Published

on

गौरव फुयाल, काठमाडौं

ठूला नामहरु भित्र्याउदै प्रबल दाबेदारको रुपमा अघि आएको मच्छिन्द्र क्लब र ब्रिगेड बोइज क्लबको भिडन्तसँगै दशरथ रँगशालामा शनिबार झण्डै पाँच बर्षपछि शहिद स्मारक ए डिभिजन लिग फर्किदैछ ।

सन् २०१५ अप्रिल २५ को महाभुकम्पले क्षति भएपछि रँगशाला भर्खरै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि पुर्ननिर्माण गरिएको थियो । त्यसअघि दशरथ रँगशालामा राष्ट्रिय लिग अन्तर्गतका खेलहरु भइरहेका थिए । गत बर्ष एन्फाले ए डिभिजिन लिग त ग¥यो तर रेलिगेसनको प्रावधान नै नराखिएको लिगका खेलहरु एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फ र सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा हुँदा त्यसको रौनक नै गुमेको थियो ।

एन्फाले ठूला म्याचहरुमा पनि दर्शक तान्न सकेको थिएन । तर दशरथ रँगशालामा लिग फर्किएपछि एक पटक फेरि घरेलु फुटबलले नयाँ उचाइ लिने अनुमान गरिएको छ । १४ टोली समावेश लिगको पुच्छारमा रहने टोली बि डिभिजनमा झर्नेछ ।

नयाँ खेलाडी, मैदान र लिगले घरेलु लिगका प्रेमीहरुलाई पनि राहत मिलेको छ । निकै कम टोलीहरुले आफुलाई लिग बिजेताको रुपमा दाबी गरिरहदा ए डिभिजनमा टिक्नु नै धेरै क्लबहरुको लक्ष्य रहने देखिएको छ । सहभागी क्लबका प्रशिक्षकहरु लिग अघि आफ्नो टिमलाई लिएर के भन्छन् त ? एक पटक पढौं

राजुकाजी शाक्य (एनआरटी)
छोटो समयमा नै हामीले राम्रो तयारी गरेका छौ । युवा टोलीले भरिएको टिममा जोश त आवश्य नै हुन्छ । एनआरटी मैले पहिलो खेलेको क्लब हो र क्लबले मेरो आवश्यकता देखेकाले म एनआरटीमा आएको हु । मलाई बिश्वास छ एनआरटीले राम्रो गर्छ र सकेसम्म लिगको उपाधि तिरै हाम्रो ध्यान केन्द्रित हुनेछ ।

नबिन न्यौपाने (त्रिभुवन आर्मी)
ठूलो क्लब भएकाले ठूलै आशा नहुने कुरै भएन । सागको अण्डर–२३ र राष्ट्रिय टोलीको तयारीले गर्दा असर परेको छ । तर पनि हाम्रा खेलाडीहरु तयार रहेका छन् । हामी लिग बिजेताका दबेदार त हौ नै तर पनि यसपाली यसअघि लिगहरुको तुलनामा राम्रो प्रदर्शन गरेर देखाउन चाहन्छौं ।

प्रवेश कटुवाल (मछिन्द्र क्लब)
थोरै समय प्रशिक्षणमा बिताएकोले केटाहरुमा आत्मबिश्वासको अलि कमी थियो तर अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरुको आगमनले त्यो पनि हटेको छ । शुरुवत देखी नै हामी राम्रो प्रदर्शन गर्ने छौ । नया खेलाडीको आगमनसँगै मछिन्द्रलाई लिग दाबेदारको रुपमा हेर्दा हुन्छ ।

भरत शाह (नेपाल पुलिस, म्यानेजर)
तयारी चित्तबुझ्दो भएको छ । बिदेशी खेलाडी नभएपनी पुलिसले आफ्नो सक्दो दिने छ । प्रयास त लिग जित्ने नै हो तर पनी हाम्रो लक्ष्य शिर्ष तीन नै हो । नेपाल पुलिस भएपछि खेलमत्र हैन देशका लागि पनि दौडिनु पर्ने हुन्छ । त्यसैले नेपाल पुलिस दुवैको लागि तयार रहेको छ ।

बालगोपाल साहुखल (च्यासल युथ)
हाम्रा सबै खेलाडी अण्डर–१८ कै छन् । युवा टोली भएकाले आफुले ठूलो आशा राखेको त छैन तरपनी जापानी खेलाडी र राष्ट्रिय टिमका पूर्व खेलाडी सन्तोष साहुखलले टिममा राम्रो असार पार्ने छन भन्नेमा म विश्वस्त छु । लिगमा हाम्रो लक्ष्य भनेको शिर्ष ६ मा कायम रहनु हो ।

राजेन्द्र तामाङ (एपिएफ)
मोफसलका नकआउट प्रतियोगिताहरु धेरै खेलेपनि लिग हुने भएकोले हामी तयार रहेका छौं । लिगको लागि म आफै पनि तयार रहेको छु । आफूलाई दवाब नपर्ने गरी हरेक खेल खेल्ने छौ । हाम्रो टिम नया छ त्यसैले केटाहरुलाई हौसला प्रदान गर्नु जरुरी छ । म सकेसम्म टिमलाई लिगको दाबेदार बनाउने तिर लाग्नेछु ।

अशोक श्रेष्ठ (हिमालयन शेर्पा, म्यानेजर)
मैदानको अभावका कारण हामीले केही समय पोखरामै प्रशिक्षण गर्दै आइरहेका छौं । अब केही दिनपछि यतै प्रशिक्षण गर्ने ब्यवस्था गरिरहेको छौं । सबै खेलाडी पुरानै छन् र फिट पनि छन । गत बर्ष भन्दा हाम्रो टोली यसपटक राम्रो देखिएको छ ।

अर्बिन गुरुङ (ब्रिगेड बोइज, म्यानेजर)
टिम युवा खेलाडीले भरिएको छ । ठूलो नाममा अनिल गुरुङ छन् । अरु ठूलो नाम नभएपनि हाम्रो टिमले ठूला क्लबहरुलाई टक्कर दिन सक्छ । तयारी सम्पूर्ण सकिसक्यो र अब हामी लिगकै पर्खाइमा छौ ।

फुजा तोपे (मनाङ मस्र्याङ्गदी)
म नेपाल आएको दुई हप्ता पनि भएको छैन । अघिल्लो लिग जित्दाका खेलाडीहरु धेरैले क्लब छोडी सकेका रहेछन् तर पनि टाइटल डिफेन्ड गछौं जस्तो लाग्छ । राम्रो तयारी भएको छ नेपाली खेलाडीहरु एकदम तयार छन् ।

आज गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा फ्रेन्ड्स, थ्री स्टार, सरस्वती, संकटा र जावलाखेल युथ क्लबका प्रतिनीधिहरुको उपस्थिती भने रहेको थिएन ।

Click to comment

Trending