लेख

दुबईको त्यो चोभार एण्ड

Published

on

नेपाली क्रिकेटको एक रोमाञ्चक पाटो हो चोभर एण्ड, जस्को बारे शायद यसअघि नलेखिएको होला । त्रिवि क्रिकेट मैदानको पेभिलियनको ठ्याक्कै बिपरित रहेको छ चोभार एण्ड । त्यो एण्डमा अहिले एउटा टेलिभिन टावर छ । र त्यहि टावरको बाँयापट्टी सधैजसो दर्शकले खचाखच भरिने भागले गुञ्जायमान बनाउने गरेको छ चोभर एण्डलाई ।
दर्शकले खचाखच भरिने घरेलु क्रिकेटका कुनै पनि खेल होस या अन्तर्राष्ट्रिय प्रतियोगिता, चोभार एण्डको त्यो भाग कहिले पनि खालि हुदैन । त्रिवि मैदानमा दर्शक कमै हुने समयमा पनि चोभार एण्डमा हल्ला भै नै रहने गर्छ । सामान्यतया लाग्ने गर्छ नेपाली क्रिकेटका “जिन्युन” दर्शक त्यही नै हुने गर्छन ।
खेलाडीलाई हौस्याउदा होस या जिस्काउदा, धेरै जसो हल्ला त्यही एण्डबाट आउने गर्छ । सुरक्षाका लागि त्यही स्थानमा धेरै प्रहरि खटिने गर्छन । नेपालीहरुको भिड न हो, केही भइहाल्ला कि भन्ने डर सबैलाई हुनु स्वभाविक हो । सन् २०१० को आईसिसि वल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा नेपाल र अमेरिकबीचको खेलमा दर्शकले गरेको तमाशा पछि त्रिवि मैदानमा त्यस्तो ठूलो दुर्घट्ना केही घटेको छैन ।

विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबिया बिचको खेलका क्रममा चोभार एण्ड तर्फ रहेको रुखबाट खेल नियाल्दै नेपाली समर्थक ।                       तस्बिर : कौशल अधिकारी / आईसिसी  

तर चोभार एण्डमा हल्ला ब्यापक हुने गर्छ । त्यो एण्ड लेजेण्डरी भैसकेको भान हुन्छ त्यसैले सबैभन्दा पहिले पुग्ने दर्शकहरु त्यही डेरा जमाएर बसिसकेका हुन्छन् ।
यस्तै त्रिवि मैदानको जस्तो चोभार एण्ड दुबईको आईसिसि एकेडेमी ओभलमा पनि देखियो जति बेला नेपालले ऐतिहासिक एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखला स्विप गर्यो ।
हुन त आईसिसि एकेडेमी ओभलमा १२ सय भन्दा बढी दर्शक अटाउदैनन् तर नेपालको खेलका लागि उक्त ग्राउण्डमा २ हजार भन्दा बढी दर्शकलाई प्रवेश गराइने गरिन्छ । नेपालीहरुको भिड जम्मा हुने स्थान हो रिम राम एण्ड जस्को दायापट्टी ७ सय दर्शकसम्म अट्न सक्छन् ।
रिम राम ऐण्डको साइट स्क्रिनको दायापट्टी हल्का उठाइएको भाग नेपाल र युएईको श्रंखलाभरि नै खचाखच भरिने गथ्र्यो । त्यहाको हल्लाले त्रिवि मैदानको चोभर एण्डको आभाष गराउथ्यो ।
नेपालले १० ओभरमा छोट्याइएको तेश्रो तथा निर्णायक ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय जित्दा उक्त दर्शकको भुमिका पनि उल्लेखनीय रह्यो । जितका लागि १ सय ५ रनको लक्ष्य पछ्याइरहेको युएई एक समय निकै मजबुत स्थितिमा थियो । उसले ७ ओभरमा ७२ रन जोडिसकेको थियो र मात्र तीन विकेट गुमाएको थियो ।
यस्तो स्थितिमा दुबईको चोभार एण्डबाट नेपाली टोलीका लागि निरन्तर चर्को आवाज निस्कियो –– नेपाल, नेपाल भन्दै । मैदान वरिपरि रहेका सबै समर्थकहरुले त्यसमा साथ दिए । बलिङ्ग गर्न आए करण केसी र क्रिजमा थिए जमेर बसेका भेटेरान साइमन अनवर जसले ३० रन बनाइसकेका थिए ।
निकै ठूलो हल्लाकाबीच अन्वरले करणको पहिलो बलमा ठूलो शट खेल्ने प्रयास गरे तर ज्ञानेन्द्र मल्ले उत्कृष्ट फिल्डिङ्गको नमुना प्रस्तुत गर्दै मिड अफमा डाइभिङ्ग क्याच लिए । हल्ला झन चर्को भयो । दर्शकको हुटिङ्गले दवाबमा देखिएका युएईका कप्तान मोहम्मद नाभिदले ओभरको तेश्रो बलमा करणले फालेको बाउन्सरलाई पुल गर्न खोजे र पवन शर्राफलाई क्याच थमाए । चोभार एण्डबाट निस्केको त्यो हल्लाले ओभलमा रहेका सबै दर्शकहरुको ध्यान आकृष्ट गर्यो ।
एकेडेमी ओभलमा त्यति नै बेला एक कोरियन टोली एकेडेमीको संरचना हेर्न “भिविङ्ग ग्यालेरी” मा रहेको थियो । युएईको इनिङ्ग शुरु हुँदा आएका उनीहरु केही समयमात्र बस्ने थिए तर नेपाली दर्शकको हल्ला र नेपालको आक्रमक बलिङ्ग र फिल्डिङ्गका कारण उनीहरु पुरै समय त्यही बसे, ताली बजाउदै । “के यो युएईको होम ग्राउण्ड हो ?” ती मध्ये एकले सोधे ।
उक्त खेलमा नेपालले निरन्तर उत्कृष्ट क्षेत्ररक्षण गरेको थियो । पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ्ग गरेका नेपालका कप्तान पारस खड्काले आफूलाई रिम राम एण्डबाट बलिङ्ग गर्दा क्रिवि मैदानमा बलिङ्ग गरिरहेको छु जस्तो लाग्ने बताएका थिए ।
आजको खेलमा युएईलाई निरन्तर दवाब राख्न दर्शकको पनि उल्लेखनीय भुमिका रहेको थियो त ?, अन्तिम ट्वान्टी–ट्वान्टी जितेपछि सोधिएको प्रश्नको उत्तर दिदै पारसले भने, “हुन सक्छ । तर हामीले उनीहरुलाई (युएईका खेलाडीलाई सोधेनौं)”
पछिल्लो तथ्यांक अनुसार युएईमा नेपालीहरुको संख्या दुई लाख २५ हजारको हाराहारीमा छ । नेपाललाई युएईमा खेल्दा आफ्नो घरेलु भमिमा खेलेजस्तै लाग्ने गरिसकेको छ । नेपाली दर्शकहरुले युएईमा आफ्नो टोलीलाई देखाएको समर्थन साच्चै नै उदाहरणीय छ । पारसले अन्तिम खेल पछि दुबईको त्यो चोभार एण्डका दर्शकहरुलाई दुई हात जोड्दै गरेको धन्वाद उनीहरुले नै डिजर्भ गर्थे ।

Click to comment

Trending