लेख

रोहित कप्तान बन्नुको अर्थ

Published

on

रोहित कुमार पौडेल सार्वजनिक कार्यक्रममा निकै कम बोल्छन् । नेपाली क्रिकेटमा काठमाडौं मै हुर्केका केही र राजधानी बाहिरका केही खेलाडीहरु बाहेक शायदै कसैले धेरै बोल्छन् । धेरै खेलाडीहरुलाई क्यामराको अगाडी बोल्न अप्ठेरो लाग्ने गर्छ । 

सिनियर राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एउटा प्रश्नमा कुनै कथा संग्रहको एक अध्याय लेख्न मिल्ने गरि बोल्ने खुबि राख्छन् । एक पछि अर्को प्रश्न राख्दै बोल्न दिने हो भने पारससँगको अन्तर्वार्ताबाट एउटा सिँगै किताब नै लेख्न मिल्छ कि भन्ने भान हुन्छ ।

उनै पारसले हाक्दै आइरहेको नेपाली क्रिकेटका अन्य खेलाडीहरु भने बोल्न लजाउछन् । अचम्म कै कुरा हो । हुन त बोल्नको लागि गलासँगै कला पनि चाहिन्छ । पारस नेपाली क्रिकेटका गिने चुनेका खेलाडी मध्ये पर्छन् जो आफ्नो भनाईमा बजन राखेर बोलिरहेका हुन्छन् ।

ज्ञोनन्द्र मल्ल, शरद भेषावकर, सबाश खकुरेल, प्रिथु बास्कोटा, शक्ति गौचन, भुवन कार्की यी सबै खेलाडीहरु राम्रो बोल्ने गर्छन । बोल्ने खेलाडीहरुको सानो सुचिमा अहिले युवा लेग स्पिनर सन्दिप लामिछाने पनि जोडिएका छन् । बिश्वब्यापी रुपमा क्रिकेट खेलिरहेका सन्दिपले राम्रै अनुभव बटुलेका छन् र त्यही अनुभवले नै उनलाई बिस्तारै एक प्रखर वक्ता पनि बनाइरहेको छ ।

‘फोकस्ड’ रोहित 

रोहित भने आफ्नो खेलसँग मतलब राख्ने खेलाडी हुन् । एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लेडिएटर्सका लागि शान्दार प्रदर्शन गरेपछि उनले फर्केर हेर्नु परेको छैन । त्यही प्रदर्शनले उनी राष्ट्रिय टोलीमा आउन सफल भए, नामिबियामा वल्र्ड क्रिकेट लिग डिभिजन टु बाट डेब्यु गर्दै जिम्बावेमा एकदिवसीय बिश्वकप क्वालिफायरमा पनि स्थान बनाउन सफल रहे, निकै महत्वपूर्ण इनिङ्गसहरु खेले र नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउदा सम्मका प्रमुख खेलाडी बन्न सफल भए ।

रोहित अहिले राष्ट्रिय अण्डर १९ टिमका कप्तान छन् । यसअघिका कप्तान आसिफ शेखलाई विकेट किपिङ्ग, ओपनिङ्ग र कप्तानीको जिम्मेवारी थेग्न गाह्रो भएको देखिएपछि नेपाली टोलीले रोहितलाई नेतृत्व सुम्पेको हो । राष्ट्रिय टोलीबाट लगातार राम्रो अनुभव बटुलेका रोहितलाई कप्तान बनाउनु सहि निर्णयको रुपमा लिनै पर्छ ।

अभ्यासका लागि नेपाली युवा टोली अहिले भारत भ्रमणमा रहेको छ र रोहितको काधमा नेपाललाई सन् २०२० मा दक्षिण अफ्रिकामा हुन गइरहेको आईसिसि अण्डर १९ वल्र्ड कपमा छनोट गराउने मुख्य जिम्मेवारी छ । अप्रिलको दोश्रो साता मलेसियामा हुन गइरहेको आईसिसि अण्डर १९ वल्र्ड कप एसिया क्वालिफायरमा नेपाल पहिलो हुन सके रोहितले देशलाई आठौं पटक बिश्वकपमा पाउनेछ, र चार बर्षपछि पनि ।

तर रोहितको जिम्मेवारी नेपाललाई अण्डर १९ वल्र्ड कप छनोट गराउनुमा मात्रै सिमित भने छैन । उनी कप्तान हुनुको अर्थ धेरै छ ।

युवाको कांधमा जिम्मेवारी

नेपाली क्रिकेट अहिले ‘ट्रान्जिसनल फेज’ मा छ । पारस, ज्ञानेन्द्र, शरद र बसन्त रेग्मी मात्र अहिले सिनियर खेलाडीको रुपमा खेलिरहेका छन् । फिटनेसका कारण नेपालले गरेको युएई भ्रमणमा बसन्तले ट्वान्टी ट्वान्टी र एकदिवसीय श्रंखलामा एक–एक खेलमात्र खेल्न सक्नु उनी पनि आफ्नो करिअरको अन्त्यतिर रहेको बुझ्न सकिन्छ ।

पुस्ता हस्तान्तरणको समयमा युवा खेलाडीहरुले राष्ट्रिय टोलीका लागि दिइरहेको प्रदर्शनले उज्जवल भविष्यको संकेत गरेको छ । तर नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको भविष्यका लागि राष्ट्रिय टोलीका लागि कप्तान तयार बनाउनु रहेको छ ।

पारसको अनुपस्थितिमा ज्ञानेन्द्रले नेपाल टोलीको जिम्मेवारी सम्हाल्ने गरेका छन् । दुवैको अनुपस्थितिमा यो जिम्मेवारी शरदको काँधमा जान्छ । तर यो स्थिति अहिलेसम्म आएको छैन, मतलव शरदले अहिलेसम्म नेपाली टोलीको कप्तानी गरेका छैनन् केही अभ्यास खेलहरु बाहेक । नेपालको लागि बिडम्बना के हो भने यी सबै सिनियर खेलाडीहरुले क्रिकेट छोड्ने समय एउटै हुन सक्छ । र यो स्थितिमा पुग्नु अघि नै नेपालले एक कुशल नेतृत्वकर्ता तयार गर्नुपर्नेछ ।

नेपाली टोलीमा सिनियर खेलाडीहरुको बाक्लो उपस्थिति रहेको समयमै पुर्व अण्डर १९ कप्तान पृथु बास्कोटा भविष्यको कप्तान बन्न सक्ने रुपमा अगाडी आए । राम्रो बोल्ने खुबि पनि राखेका पृथुले निकै नै कठिन मानिएको १० टिम सम्मिलित २०११ आईसिसि ग्लोबल क्वालिफायर मार्फत टोलीको राम्रो नेतृत्व गर्दै नेपाललाई २०१२ को अण्डर १९ वल्र्ड कप सम्म डो¥याए ।

अण्डर १९ वल्र्ड कपपछि उनी लगातार राष्ट्रिय टिमबाट खेलेपनि तर एकपटक बोकेको चोटले उनलाई सिनियर टिममा पुनरागमन जनाउन निकै गाह्रो पर्न गयो । शायद पृथु नेपाली क्रिकेटमा सबैभन्दा अभागि खेलाडी बन्न पुगे ।
सन् २०१४ मा न्युजिल्याण्डमा भएको आईसिसि क्रिकेट बिश्वकप क्वालिफायरमा युगाण्डाबिरुद्धको खेलमा घुडाको चोट बोकेपछि पृथुको करिअरले उल्टो गतिमा चल्न पुग्यो । उनी चोटबाट त फर्किए तर यस क्रममा नेपाली क्रिकेटमा धेरै खेलाडीहरु आए र उनको पुनरागमन अझ कठिन बन्न पुग्यो ।

पृथुले राष्ट्रिय टोलीका लागि जति गरेपनि कम हुने देखिएपछि नेपालले भविष्यमा देखेको कप्तानले शायद अब मैदानमा उत्रन केही जादु नै गर्नुपर्ने देखिन्छ । क्यान निलम्बनमा रहेको र घरेलु क्रिकेटको संरचना नै शुन्य रहेको अवस्थामा राष्ट्रिय टोलीबाट बाहिर रहेका खेलाडीहरुलाई टिममा फर्किनु भनेको फलामको चिउरा चपाउनु बराबर नै छ ।

तर फरक छन् रोहित 

अब नेपालले देखेको भविष्यका कप्तानहरुको सुचिमा सोमपाल कामी, आरिफ शेख, सन्दिप लामिछने, दिपेन्द्रसिँह ऐरिपछि अब रोहित जोडिएका छन् । तर रोहित फरक छन् ।

भर्खरै मात्र सम्पन्न एनसिसिएस–सिप्यान क्रिेकट अवार्डसमा रोहित बर्ष उदीयमान खेलाडीको उपाधि जिते । उपाधि जित्ने बित्तिकै बोल्नका लागि गरिएको आग्रहमा रोहित निकै अप्ठेरोमा देखिए । ३० सेकेण्ड पनि नबोलेका उनले कप्तान पारसलाई पनि धन्यवाद दिए, शायद उनी नर्भस थिए ।

रोहितलाई साच्चै आफ्नो खेलसँग मात्र मतलब छ र यो नेपालको लागि राम्रो संकेत हो । तर नेपालले उनिबाट धेरै अपेक्षा गरेको पनि छ । उनको खेलमा निकै परिपक्वता झल्किन्छ र मैदानमा आक्रमकता पनि । राष्ट्रिय अण्डर १९ टोलीको कप्तान बनेपछि उनलाई अब बोल्न कर लाग्नेछ र थप जिम्मेवार पनि बनाउनेछ ।

जिम्मेवारीले राहितलाई थप परिपक्व बनाउने आशा पनि गर्न सकिनेछ । “रोहित यस्ता खेलाडी हुन जो लामो दुरि तय गर्न सक्छन् उसको स्किल मात्र नभएर उनले टोलीमा पार्ने प्रभाव पनि राम्रो छ । र उनीमा कुनै पनि परिस्थितिलाई सम्हाल्न सक्ने खुबि पनि छ । रोहितलाई हामीले भविष्यका लागि पनि हेर्नुपर्छ,” रोहित कप्तान घोषित भएकै दिन अण्डर १९ मुख्य प्रशिक्षक बिनोद दासले भनेका थिए ।

स्पष्ट के छ भने रोहित भविष्यका लागि तयार पारिएका खेलाडी हुन् र अण्डर १९ टोलीको कप्तानी उनको लागि त्यो भविष्यको शुरुवात । परिपक्वताकै आधारमा रोहितले यो भुमिकालाई धैर्यताका साथ अगाडी लिएर जानु पर्ने आवश्यकता त छ नै साथै उनलाई एक कुशल नेतृत्वकर्ता बनाउन सबैले उत्तिकै सहयोग दिनुपर्ने आवश्यकता छ ।

Click to comment

Trending