अन्तर्राष्ट्रिय

 ट्वान्टी ट्वान्टी विश्वकपमा चिरप्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दै

Published

on

अष्ट्रेलियामा जारी ट्वान्टी ट्वान्टी विश्वकप अन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

राजनैतिक दबाबका कारण भारत र पाकिस्तान बीच कुनै पनि शृंखला आयोजना हुँदैन । यी दुई टोली एक आपसमा भिड्ने भनेको आईसीसी अथवा एसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्र हो । त्यसैले गर्दा पनि भारत र पाकिस्तान बीचको खेलमा समग्र क्रिकेट समर्थकहरूको आँखा जाने गरेको छ ।

भारत र पाकिस्तान बीचको पछिल्लो भिडन्त एसिया कपमा भएको थियो । दुई खेल मध्य भारतले एक खेलमा जित निकाल्दा पाकिस्तानले अर्को खेलमा जित निकाल्न सफल भएको थियो । एसिया कपको समुह चरणको खेलमा पाकिस्तान माथि पाँच विकेटको जित निकालेको भारत सुपर ४ मा पाँच विकेटले पराजित हुँदा फाइनल खेल्नबाट बञ्चित भएको थियो ।

यस अघि गत वर्ष अक्टोबरमा युएईमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटको फराकिलो हारको सामना गर्न बाध्य भएको थियो । पाकिस्तानसँग पराजित हुँदा भारतको सेमिफाइनल खेल्ने सपना सपनामा नै सीमित हुन पुग्यो ।

भारत र पाकिस्तानको खेल हुने मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा एक लाख भन्दा बढी समर्थक अट्छ । तर आजको खेलमा मैदानमा गएर खेल हेर्ने समर्थकहरूको आशा निराशामा परिणत हुने प्रबल सम्भावना रहेको छ । मौसम विभागका अनुसार मेलबर्नमा वर्षा बाधक बन्ने सम्भावना धेरै रहेका कारण भारत र पाकिस्तानको खेल प्रभावित हुन सक्ने छ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली उत्कृष्ट सुरुवात गर्ने सुरमा रहेका छन् । तर वर्षाका कारण दुबै टोली १-१ अंकमा नै सीमित रहने बढी सम्भावना छ ।   

 

       

Click to comment

Trending