लेख

नेपालका लागि केन्या टुर महत्वपूर्ण

Published

on

केन्यासँगको पाँच ट्वान्टी ट्वान्टी तथा तीन एकदिवसीय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार राती नैरोबी प्रस्थान गरेको छ । सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम र पाँच अफिसियल सहित २१ जनाको टोली केन्या लागेको हो । 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारै एक कार्यक्रम आयोजना गरी बिदाई गरेको थियो । क्यान अध्यक्ष चतुर बहादुर चन्द लगायत क्यानका अन्य पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् ।

नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि केन्या टुर नेपाली टोलीसँग पहिलो टुर हुनेछ । साउन २३ मा मुख्य प्रशिक्षक नियुक्त भएका उनी साउन २८ गते नेपाल आइपुगेका थिए ।

पुबुदु दासानायकेले लिग टु अन्तर्गत स्कटल्याण्ड टुर पछि राजीनामा दिएपछि क्यानले भारतीय टिमका पूर्व अलराउण्ड प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

प्रभावरले नेपाली टिमसँग थोरै समय बिताए पनि तयारी राम्रो रहेको बताएका छन् । साथै उनले नेपाली टिममा रहेका युवा खेलाडीहरु प्रदर्शनका लागि तयार र उत्साही रहेको बताए । ‘हाम्रो लागि राम्रो प्राक्टिस म्याच हुनेछ ।’

नेपाली टिमसँग थोरै समय बिताएका प्रभावरले यसै टुरबाट नेपाली खेलाडीको प्रतिभा पहिचान गर्ने अवसर पाउनेछन् ।

कप्तान सन्दीप लामिछानेले केन्या टुर महत्वपूर्ण रहेको बताएका छन् । ‘केन्या टुर हाम्रो लागि महत्वपूर्ण नै छ ।’ उनले नयाँ खेलाडीको आगमन र केहीको पुनरागमन रहेको बताए । साथै उनले नयाँ प्रशिक्षकको अन्डरमा खेल्न सबै उत्साहित रहेको बताउँदै केही नयाँ प्रयोग गर्ने संकेत समेत दिए ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले केन्या भ्रमण नयाँ प्रशिक्षकका लागि खेलाडी चिन्ने अवसर हुने र राम्रो प्रदर्शन गर्दै वरीयता सुधार गर्न महत्वपूर्ण रहेको बताए । साथै सन् २०२४ को टी २० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने चन्दको भनाई थियो ।

नेपाली टोली मंगलबार केन्या पुग्नेछ । नेपालले केन्यासँग बिहीबार नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा पहिलो टी २० खेल खेल्नेछ । पाँच टी २० पछि नेपाल र केन्याबीच तीन एकदिवसीय खेल हुनेछ । 

Click to comment

Trending