लेख

नयाँ प्रशिक्षक प्रभाकर भन्छन् : पहिलो काम लिग टु

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले आफ्नो पहिलो काम आईसीसी क्रिकेट लिग टु मा बाँकी रहेको खेलमा केन्द्रित हुने बताएका छन् ।

साउन २३ गते नेपालको प्रशिक्षक नियुक्त भएपछि भारत उत्तर प्रदेशका प्रभाकर शनिवार साँझ काठमाडौं आइपुगे । नेपाल आइपुगेको भोलिपल्टै उनले किर्तिपुरस्थित टीयू मैदानमा पुगेर नेपाली खेलाडीको ट्रेनिङ सेसन हेरे । त्यस पछि हायात प्यालेसमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेर अन्तरक्रिया कार्यक्रममा पत्रकारमाझ उपस्थित उनले आफ्नो कामबारे सुनाए । ‘अबको मुख्य लक्ष्य लिग टु का बाँकी १६ खेलमा हो । त्यसमा हामी सकेसम्म धेरै खेल जित्न चाहन्छौँ, ‘ ५९ वर्षीय प्रभाकरले भने ।

त्यसअघि उनको पहिलो काम केन्या भ्रमण हुनेछ । पाँच टी २० आई र तीन एकदिवसीय खेलमा लागि नेपाली टोली अर्को साता अफ्रिकन राष्ट्र केन्या प्रस्थान गर्दैछ ।

साउन पहिलो साता स्कटल्याण्डमा लिग टु को त्रिकोणात्मक शृंखला खेलेर फर्केको नेपालको अर्को शृंखला नोभेम्बरमा हुने सम्भावना छ । त्यसअघि सेप्टेम्बर-अक्टोबरमा क्यानको आयोजनामा नेपाल टी २० लिग आयोजना हुनेछ ।

नेपाल आएको भोलिपल्टै टिमको ट्रेनिङ हेर्न भ्याएका प्रभाकरले नेपाली खेलाडीले आईपीएल खेल हेर्ने र हार्ड हिटको धुनमा टेक्निक गुमाएको विश्लेषण गरे । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा खेल्नुअघि टेक्निकमा सुधार गर्ने र त्यसका लागि केही समय लाग्ने उनको विश्वास छ । ‘एकदिवसीय र टेष्ट क्रिकेट खेल्ने हो भने त्यही स्तरको टेक्निक चाहिन्छ ।’

उनले नेपाली टिम अहिले युवा रहेकोले सिकाउन सजिलो हुने र नतिजा चाँडै आउने विश्वास राखे । अहिले नेपाली टोलीको एभरेज उमेर २२ वर्षको रहेको उनले बताए ।

यस्तै नेपाली क्रिकेटमा अहिले विभाजन रहेको भन्ने प्रश्नमा उनले कूटनीतिक जवाफ दिँदै एउटा परिवारमा पनि समूह समूह भयो भने राम्रो नहुने र एकताले नै राम्रो नतिजा दिने बताए । उनले दुई-तीन महिना पछि नेपाली टिममा परिवर्तन देखिने संकेत गरे ।

भारतको राष्ट्रिय टिमबाट लागि एक दशक भन्दा बढी खेलेका प्रभाकरले ३९ टेष्ट र १३० एकदिवसीय क्रिकेट खेलेका छन् । 

क्यानले प्रभाकरलाई एक वर्षका लागि अनुबन्ध गरेको छ । अब उनले पुबुदु दासानायकेको स्थान लिनेछन् । स्कटल्याण्ड भ्रमण पछि पुबुदु राजीनामा दिएर क्यानडा फर्केका थिए । 

 

Click to comment

Trending