लेख

नवौं राष्ट्रिय खेलमा राष्ट्रिय किर्तिमान तथा स्वर्ण पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था 

Published

on

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्नेले नगद २५ हजार पाउने भएका छन् । यस्तै राष्ट्रिय कीर्तिमान बनाउनेले ५० हजार प्राप्त गर्नेछन् ।

आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले स्वर्ण विजेता र राष्ट्रिय कीर्तिमानीले पाउने पुरस्कार रकम सहित विभिन्न निर्णय पारित गरेको छ । व्यक्तिगत तर्फ स्वर्ण जित्नेले २५ हजार पाउनछ्न भने टिमतर्फ स्वर्ण विजेताले १५ हजार पाउनेछन् । 

नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र गैरआवसिय गरी कूल ११ टिम सहभागि हुनेछन् ।

यस्तै बोर्ड बैठकले खेलाडी संख्या र नाम दर्ता गर्नुपर्ने मिति पनि सार्वजनिक गरेको छ । जसअनुसार सहभागि टिमले एक महिना भन्दा अघि अर्थात भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गरिसक्नुपर्नेछ । त्यस अघि भदौ १५ गतेसम्म खेलाडीको संख्या पठाउनुपर्नेछ । सम्बन्धित जिल्ला र प्रदेशका खेलाडीलाई मात्र सम्बन्धित टिममा सहभागी गराउने निर्णय पनि गरेको छ ।

एउटा टिममा ३३९ महिला र ३६९ पुरुष खेलाडीको कोटा रहने बैठकले पारित गरेको छ । नवौं राष्ट्रिय खेलकुदमा कूल ३६ खेल र २ प्रदर्शनी खेल समावेश हुनेछ भने ४०७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै राष्ट्रिय खेलकुदमा सहभागी सबै खेलाडी र अफिसियलले दैनिक २ हजार भत्ता पाउनेछन् ।

यस्तै प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीज्यूबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रर्दशन गरिने निर्णय भएको छ । यस अघि नै विजेतालाई १० लाख बराबरको रनिङ ट्रफी प्रदान गर्ने घोषणा भइसकेको छ ।

परिषद्को कर्मचारी सेवा,शर्त सम्वन्धी विनियम तयार गर्न परिषद सदस्य प्रकाश कुसारीको संयोजकत्मा समिति गठन गरिएको छ । यस्तै परिषद्को भौतिक संरचना तथा सम्पती यकिन तथा प्रदेशमा हस्तान्तरण सम्वन्धी परिषद सदस्य अन्जन धमलाको संयोजकत्वमा समिति निर्माण गरिएको छ ।

खेल संघ विवाद सहजिकरणमा उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन भएको छ ।  

परिषद् अन्तर्गत कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभए सम्मका लागि कामकाज गर्न प्रदेश खेलकुद संरचनामा पठाईने निर्णय भएको छ ।

२०२३ मा हुने १४ औँ दक्षिण एसियाली खेलकुद साग, २०२३ मा हुने १९ औ एशियाली खेलकुद, २०२४ मा पेरिस ओलम्पिक, २०२६ मा शितकालिन ओलम्पिक र २०२६ को डकार युथ ओलम्पिक गेम्सका तयारीका लागि बजेट व्यवस्था तथा तयारी गर्ने निर्णय गरिएको छ ।

यस्तै ओ एन्ड एम सर्भे समिति गठन गर्ने, खेलाडी छात्रवास निर्माण गर्ने र मूलपानीमा एनएससी फिट्नेस सेन्टरको स्थापना गर्ने निर्णय पनि गरिएको छ । 

Click to comment

Trending