Headline

साफ यू-२० च्याम्पियनसिपमा नेपालकाे शानदार जित

Published

on

भारतकाे भुवनेश्वरमा आज देखी सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । कालिंगा रंगशालामा प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराउँदै सुखद सुरुवात गरेको हो । 

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, क्रितिश  रत्न छुन्जु र मनग्य नकर्मीले ले १-१ गोल गरे । 

खेलको सुरुवात देखी नै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले पहिलो हाफमा पाएका थुप्रै मौका गुमायो । खेलको १० औं मिनेटमा सुमित श्रेष्ठले डि बक्स भित्र पाएको मौका सदुपयोग गर्न सकेनन् । १६ औं  मिनेटमा क्रिटिशको पासमा पाएको राम्रो अवसर सुगमले खेर फाल्यो । 

लगातार माल्दिभ्सको पोस्टमा धावा बोलेको नेपालले पहिलो गोलका  लागि पहिलो हाफको अन्तिमसम्म कुर्नु पर्यो । ४२ औं मिनेटमा दिपेशले नेपाललाई अग्रता दिलाए । आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाउँदा रिबाउण्डमा पाएको बललाई दिपेशले करिब  ३५ यार्ड टाढाबाट कडा प्रहार गर्दै पोस्टको दिशा दिलाए ।लगत्तै पाएको अवसरमा फेरी एक पटक सुगम चुक्न पुगे । 

पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५६ औं मिनेटमा माल्दिभ्सले खेलमा फर्कने राम्रो अबसर गुमायो । तर त्यसको दुई मिनेटपछि सुगमले नेपालको अग्रता दोब्बर पारे । क्रिटिशको पासमा अनमार्क रहेका सुगमले माल्दिभ्सका  डिफन्डरलाई बिट गर्दै सुन्दर गोल गरे । 

६२ औं मिनेटमा क्रिटिशले टोलीका लागि तेस्रो गोल गरे । माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाए पछि पाएको पेनाल्टीमा क्रिटिशले सहजै गोल गरे । जितनजिक रहेको नेपालका लागि अतिरिक्त समयमा मनग्यले  गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । गोलरक्षकले रोकेको बल रिबाउण्डमा मनग्येले सहजै गोल गर्दै  नेपाललाई ३ अंक दिलाए । 

अब नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

 

 

Click to comment

Trending