Headline

पुबुदुले दिए राजिनामा 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । पुबुदुले आज पत्रकार सम्मेलनको आयोजना गर्दै राजिनामा दिएको खुलाशा गरेका हुन् । 

पुबुदु गत मङ्सिरमा दोश्रो कार्यकालका लागि नेपाल आएका थिए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग दुई वर्षे सम्झौता गरे पनि करिब नौ महिना पछि नै राजिनामा दिएका हुन् । उनले स्कटल्याण्डमा हुँदा नै क्यानलाई इमेल मार्फत आफ्नो राजिनमा पत्र बुझाएका थिए ।  

आफ्नो दोश्रो कार्यकालमा बिर्सन लायक नतिजा दिन पुगेका पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण संहालेका थिए । पुबुदुको पहिलो कार्यकालमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने पहिलो र अन्तिम पटक सन् २०१४ मा वंगलादेशमा आयोजित ट्वान्टी ट्वान्टी  विश्वकप खेलेको थियो । 

‘यो निर्णय मेरा लागि अहिलेसम्म कै कठिन रह्यो । मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हो । अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने भयो ,’ पत्रकार सम्मेलनमा पुबुदुले भने । 

पुबुदुले राजिनामा दिनु आफ्नो व्यक्तिगत कारण भएको बताउँदै भने, ‘म यसलाई विस्तृत रुपमा अहिले भन्न चाहन्न । यो आकस्मात आज आएको निर्णय पनि होइन । मैले लामो समयदेखि उक्त समस्या सुल्झाएर प्रशिक्षण जारी राख्ने सोचेको थिएँ तर अब यस्तो समय आयो मैले यहाँ निरन्तरता दिन सकिन ।’ 

‘म अर्को महत्त्वपूर्ण कुरा भन्न जाँदैछु । मैले सन् २००७ यता अन्तर्राष्ट्रिय क्रिकेटमा काम गरेको छु । यसपटक क्यानबाट पाएको सहयोग निकै राम्रो थियो । समर्थकले नतिजाको अनुसार हाम्रो आलोचना गर्नु स्वभाविक हो । पछिल्लो ६ महिनामा बोर्डले टोलीको लागि गरेको कार्य प्रशंसनीय छ । बोर्डले गरेका यी कार्यको नतिजा पक्कै आउनेछ ।’ 

‘यो क्षेत्रमा राम्रो कार्य गर्ने मध्य कम टोलीमा नेपाल पर्छ । म सहजै कसैको बारे राम्रो भन्दिन, तर बोर्डले यो कठिन समयमा गरेको काम निकै राम्रो थियो । मलाई विश्वास गरेर ल्याइएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु । म माफी माग्छु की मैले काम बिचमा छोड्नुपर्यो । तर नेपाली क्रिकेटलाई सही दिशा दिन पाएकोमा म खुसी छु ।’

‘म जाँदैछु । तर नेपाली क्रिकेटको प्रगतिको कामना गर्दछु । सदाझैं नेपाली क्रिकेट नजिकबाट नियाल्नेछु । सबैलाई धन्यवाद ।’

गत मंसिर अन्तिममा पुबुदुले पद सम्हाल्दा नेपाली टोली विभाजनको अवस्थामा थियो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी सहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो । त्यो घटनाले खेलाडीहरु विभाजित थिए ।

दोस्रो पटक नेपालको प्रशिक्षक बनेर आउँदा पुबुदको दुई चुनौती थियो । टी–२० विश्वकपमा छनोट गराउने र गुट उपगुट रहेको मिलाउन चुनौती थियो । नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन भने टिमभित्रको हार्दिकता पनि प्रदर्शनमार्फत देख्न सकिएको छैन ।

ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले चार खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने सम्भावना गुमाएको थियो ।

यसबीचमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत तीनवटा त्रिकोणात्मक शृंखला खेलेको थियो । १२ खेलमा नेपालले ४ जित, १ बराबरी र ७ हारको नतिजा निकालेको छ ।

पपुवा न्युगिनीविरुद्ध एकदिवशीय शृंखला खेलेकोमा नेपाल पराजित रह्यो । मलेसिया र पपुवा न्युगिनीसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला नेपालले जितेको थियो । जिम्बाबे ए टिमसँगको टीप्–२० शृंखला १–१ को बराबरी भएको थियो भने एकदिवशीय शृंखला नेपालले २–१ ले जितेको थियो ।

Click to comment

Trending