Headline

एन्फा अध्यक्ष अस्वस्थ भएपछि कार्यसमिति बैठक स्थगित

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने तय भएको कार्यसमिति बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको छ ।

असार ६ मा भएको निर्वाचनबाट नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ नेतृत्व आएपछि दोस्रो पटक कार्यसमिति बैठक बस्न लागेको थियो । तर सोमबार अध्यक्ष नेम्वाङ अचानक बिरामी भएर अस्पताल भर्ना भएपछि दिउँसो ३ बजेलाई बोलाइएको कार्यसमिति बैठक बस्न सकेन ।

एन्फाले स्टेमेन्ट सार्वजनिक गर्दै अध्यक्ष नेम्वाङ अस्वस्थ भएर मेडिसिटी अस्पतालमा भर्ना भएपछि बैठक स्थगित गरिएको जनाएको छ ।

एन्फाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जनाएको छ ।

नेपालमा आयोजना हुने तय भएको साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग, एन्फामा सिइओ र प्रवक्ता नियुक्तिदेखि फुटबलका विभिन्न गतिविधिका विषयमा एजेन्डा तय थियो ।

एन्फाले सुरुमा विविधसमेत १२ एजेन्डा तय गरेको थियो । तर त्यसमा दुई उपाध्यक्षले एजेन्डा थप गरेका थिए । दीर्घ बहादुर केसीको प्रस्तावमा महिला राष्ट्रिय लिगको दोस्रो चरण लगायत ५ एजेन्डा थप भएको थियो भने दिपक खतिवडाको प्रस्तावमा सिइओ र प्रवक्ता नियुक्तिको एजेन्डा थप भएको थियो ।  

 

Click to comment

Trending