Headline

टप्लीले कीर्तिमानी बलिङ गर्दा भारतको लज्जास्पद हार 

Published

on

रिस टप्लीले घातक बलिङ गर्दै कीर्तिमानी ६ विकेट निकाले पछि भारतले इंग्ल्यान्डसँगको एकदिवसीय खेलमा १०० रनको लज्जास्पद हारको सामना गरेको छ । यससँगै इंग्ल्यान्डले तीन खेलको शृंखला १-१ को स्थितिमा पुर्याएको छ ।

इंग्ल्यान्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारतले ३८ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो ।

भारतको पारी ध्वस्त पार्ने क्रममा टप्लीले नौं दशमलब पाँच ओभर बलिङ गर्दा दुई मेडन ओभर सहित २४ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । त्यस बाहेक डेविड विली, ब्राइडेन कार्स, मोईन अली र लियम लिविंगस्टोनले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

सुरुवात देखि नै खराब ब्याटिङ प्रदर्शन गरेको भारतका कप्तान तथा ओपनर रोहित शर्मा १० बल खेल्दै डक आउट भए भने अर्का ओपनर शिखर धवन पनि नौ रन जोड्दै पेभेलियन फर्किए । दुबै टाप्लीको शिकार बने । विकेट किपर ऋषभ पन्त पनि गोल्डेन डक आउट हुँदा विराट कोहलीले पनि १६ रन भन्दा जोड्न सकेनन् ।

भारतको लागि हार्दिक पान्ड्या र रविन्द्र जडेजाले समान २९-२९ रन को योगदान दिए भने सुर्यकुमार यादव ले २७ तथा तीब्र गतिका बलर मोहम्मद शामीले २३ रनको योगदान दिए ।

सुर्य कुमार यादव, मोहम्मद शामी र तीन रन बनाएका युज्बेन्द्र चाहलको विकेट निकाल्दै टप्लीले आफ्नो पाँच विकेट पुरा गरे । त्यस पछि तीन बलमा डक आउट भएका प्रसिद्ध कृष्णाको विकेट हात पार्दा टप्लीले इंग्ल्यान्डको लागि उत्कृष्ट बलिङ गर्ने किर्तिमान आफ्नो नाममा लेखाए । यस अघि इंग्ल्यान्डको तर्फबाट उत्कृष्ट बलिङको किर्तिमान पुर्व कप्तान पौल कलिङउडको नाममा रहेको थियो । कलिङउडले १० ओभर बलिङ गर्दा ३१ रन खर्चिएर ६ विकेट हात पारेका थिए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २४६ रनको मध्यम योगफल खडा गर्यो ।

इंग्ल्यान्डको तर्फबाट मोईन अलीले सर्वाधिक ४१, डेविड विलीले ४१ तथा ओपनर जोनी बेयरस्टोले ३८ रनको पारी खेले । इंग्ल्यान्डलाई मध्यम योगफलमा रोक्ने क्रममा युज्बेन्द्र चाहलले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र हार्दिक पान्ड्याले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।  

 

Click to comment

Trending