Headline

स्कटल्याण्ड माथि नेपालको ऐतिहासिक जित 

Published

on

विकेट किपर तथा ओपनर आसिफ शेखको अर्धशतक तथा तीब्र गतिका बलरहरु सोमपाल कामी र आदिल अन्सारीले घातक बलिङ गर्दा विश्वकप लिग टु अन्तर्गतको शृंखलामा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि पाँच विकेटको ऐतिहासिक जित दर्ता गराएको छ । स्कटल्याण्ड माथि पहिलो पटक जित दर्ता गराएको नेपालले यससँगै इतिहास रच्न सफल भएको हो ।

स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५ दशमलब एक ओभर खेल्दै पाँच विकेट गुमाएर जित आत्मसाथ गर्यो ।

नेपालको जितमा आसिफले सर्वाधिक ७१ रनको पारी खेले । खेलको प्लेयर अफ द म्याच घोषित उनले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे । आसिफ बाहेक रोहित कुमार पौडेलले अविजित ३४ तथा अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए । त्यस बाहेक देव खनाल चार, दिपेन्द्र सिंह ऐरी तीन तथा आरिफ शेख एक रनमा पेभेलियन फर्किए ।      

यस अघि १० औँ नम्बरमा ब्याटिङ गर्न आएका गाविन मेनले अविजित अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ४२ दशमलब पाँच ओभरमा १४४ रनमा अल आउट हुन पुग्यो ।

स्कटल्याण्डको पारी ध्वस्त पार्ने क्रममा आदिल अन्सारी र सोमपाल कामीले समान ३-३ विकेट हात पारे भने सन्दिप लामिछानेले दुई विकेट लिए । त्यस बाहेक करण केसी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

एक समय एक सय रनको स्कोर पनि कटाउन नसक्ने अवस्थामा रहेको स्कटल्याण्डको लागि नवौँ नम्बरका गाविन मेनले ५९ बलमा सात चौका र एक छक्काको मद्दतमा अविजित ६४ रन प्रहार गरे । ९५ रनमा नौ विकेट गुमाएको स्कटल्याण्डको लागि मेन र हम्जा ताहिरले ५९ रनको साझेदारी गर्न सफल भए ।    

मेन बाहेक स्कटल्याण्डको लागि मार्क वाटले १७, सफ़्यन शरिफले १६ तथा क्यालम म्याकलोयडले १३ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।  

 

Click to comment

Trending