Headline

इंग्ल्यान्ड माथि भारतको १० विकेटको जित 

Published

on

तीब्र गतिका बलर जस्प्रित बुम्राले घातक बलिङ गर्दै ६ विकेट हात पार्नुको साथै कप्तान रोहित शर्माले अविजित अर्ध शतक प्रहार गर्दा भारतले घरेलु टोली इंग्ल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा १० विकेटको सहज जित हात पारेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २५ दशमलब दुई ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर ११० रन मात्र जोड्न सक्यो भने भारतले १८ दशमलब चार ओभरमा कुनै पनि विकेट नगुमाई जित हात दर्ता गरायो । 

भारतको जितमा अविजित रहेका कप्तान रोहित शर्माले ५८ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७६ रन बनाए भने अर्का ओपनर शिखर धवनले ३१ रनको पारी खेले ।  

यस अघि सुरुवात देखिन नै घातक बलिङ गरेका बुम्राले आफ्नो पहिलो ओभरमा नै जेसन रोयलाई डक आउट गराए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका जो रुट दुई बल खेल्दै तथा बेन स्टोक्स पहिलो बलमा नै डक आउट भए । सात रन बनाएका जोनी बैरस्टो पनि सात रन बनाउँदै बुम्राको बलमा नै आउट हुन पुगे । 

कप्तान जस बटलरले इंग्ल्यान्डको लागि सर्वाधिक ३० रनको पारी खेल्दा डेविड विलीले २१ तथा मोईन अलीले १४ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डको पारी ध्वस्त पार्ने क्रममा सात दशमलब दुई ओभर बलिङ गरेका बुम्राले तीन मेडन सहित १९ रन खर्चिएर ६ विकेट आफ्नो नाममा दर्ता गराए ।  त्यस बाहेक अर्का तिब्र गतिका बलर मोहम्मद शामीले तीन विकेट हात पारे ।       

Click to comment

Trending