Headline

नेपालको अधिकारिक फ्रेन्चाइज लिगलाई आईसीसीको मान्यता

Published

on

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी सेप्टेम्बरबाट सुरु हुन लागेको नेपाल टि-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिएको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको अधिकारिक फ्रेन्चाइज लिगलाई आईसीसीको मान्यता प्राप्त भएको जनाएको हो ।   

आगामी सेप्टेम्बर २४ तारिकबाट सुरु हुने प्रतियोगिता अक्टोबर २२ तारिक सम्म टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । होम एण्ड अवेमा आयोजना हुने खेलमा सहभागी ६ टोलीले एक आपसमा दुई पटक भिड्ने छन् । ६ फ्रेन्चाइज ६ भिन्न शहरको नाममा राखिने छ भने क्यानले उक्त टोली र त्यसका मालिकहरुको नाम आगामी हप्ता सार्वजनिक गर्ने भएको छ । 

क्यानले नेपाल टि-२० लिग सार्वजनिक गर्ने कार्यक्रममा यस सिजन टियु क्रिकेट मैदानमा मात्र खेलाइने भए पनि अर्को सिजनबाट टोलीको संख्या बढाउनुको साथै होम एण्ड अवेमा खेलाइने पनि क्यानले जनाएको छ । 

क्यानले नेपाल टि-२० लिगको कमर्सियल पार्टनरका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई भित्राएको छ । क्यानले सेभेन थ्री स्पोर्ट्सलाई आठ वर्षका लागि ३३ करोड नेपाली रुपैयाँमा कमर्सियल पार्टनरका रुपमा भित्राएको हो । सेभेन थ्री स्पोर्ट्सले नेपाल टि-२० लिगको सबै पाटो हेर्नेछ । सेभेन थ्री स्पोर्ट्सले क्यानलाई कमर्सियल पार्टनर भए बापत दिने रकम बाहेक टीयू क्रिकेट रंगशाला बढोत्तरीका लागि पनि रकम खर्च गर्ने क्यानले जानकारी दिएको थियो ।

क्यानले नेपाल टि-२० लिगका खेलाडीहरुको वर्गीकरण तीन समुहमा गरेको छ । क्यानका अनुसार ग्रेड सी का खेलाडीहरुको न्यनतम तलब पाँच लाख, ग्रेड बी का खेलाडीहरुको १० लाख तथा ग्रेड ए का खेलाडीहरुको न्यूनतम तलब १५ लाख हुनेछ ।   

 

Click to comment

Trending