Headline

कप्तान रोहितको शतक र सोमपालको पाँच विकेटमा अमेरिकामा नेपालको पहिलो जित 

Published

on

कप्तान रोहित कुमार पौडेलले  शतक तथा तीब्र गतिका बलर सोमपाल कामीले पाँच विकेट हात पार्दा अमेरिका भ्रमणको दोश्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय टोलीले ह्युस्टन हरिकेन्स माथि ३० रनको फराकिलो जित हात पारेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहितको शतकको मद्दतमा ४९ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २५० रन बनायो भने सोमपालले पाँच विकेट निकाल्दा ह्युस्टनले ४३ दशमलब तीन ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

कप्तान सन्दिप लामिछानेलाई विश्राम दिँदा नेपाली टोलीको कप्तानी सम्हालेका रोहितले नेपालको तर्फबाट सर्वाधिक १०१ रन बनाए । रन आउट हुनु अघि चौथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले ९० बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा १०१ रन जोडे ।  

रोहित बाहेक नेपालको लागि आरिफ शेखले ४१, दिपेन्द्र सिंह ऐरीले २४, देव खनालले १९, सुनिल धमलाले १३, करण केसीले १२ रन बनाए भने अन्य बलरहरुले दोहोरो अंकमा रन निकाल्न सकेनन् । कुशल भुर्तेल एक, बिनोद भण्डारी चार, सुशन भारी पाँच तथा सागर ढकाल दुई रन जोड्दै पेभेलियन फर्किए भने किशोर महतो आठ रनमा अविजित रहे ।

ह्युस्टनका मोहम्मद इलियासले १० ओभरमा ६४ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने हर्मित सिंहले दुई तथा हसन रसिदले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

ह्युस्टनको लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका निनाद निम्बालकरले ८१ बल खेल्दै १२ चौका र दुई छक्का सहित आक्रामक ९९ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । त्यस बाहेक रामिज राजाले २९, गौरव बजाजले १५, उस्मान रफिकले १२ तथा नितिश कुमारले १० रनको पारी खेले ।

निम्बालकरलाई ९९ रनमा नै रोक्दै नेपाललाई जित दिलाउन उल्लेख्य भूमिका खेलेका सोमपाल कामीले आठ दशमलब तीन ओभरमा ३८ रन दिएर सर्वाधिक पाँच विकेट हात पारे । त्यस बाहेक किशोर महतो र सागर ढकालले समान २-२ तथा करण केसीले एक विकेट हात पारे ।   

Click to comment

Trending