Headline

पाटिदारले शतक प्रहार गर्दा लखनउ माथि शानदार जित निकाल्दै बेंगलोर क्वालिफायर्समा 

Published

on

रजत पाटिदारले शतकीय पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोर लखनउ सुपर जायन्ट्स माथि १४ रनको शानदार जित निकाल्दै १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोश्रो क्वालिफायर्समा प्रवेश गरेको छ । बेंगलोरले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर्समा पराजित राजस्थान रोयल्सको सामना गर्नेछ ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाटिदारको अविजित शतकमा बेंगलोरले चार विकेट गुमाएर २०७ रनको विशाल योगफल बनायो । २०८ रनको लक्ष्य पछ्याएको लखनउले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १९३ रन मात्र जोड्न सक्यो ।

कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै लखनउलाई जित तर्फ उन्मुख गराए पनि १९ औँ ओभरमा जश हेजलउडको शिकार बन्दा एलिमिनेटरबाट नै बाहिरिन पुग्यो । ५८ बलको सामना गरेका राहुलले हेजलउडको बलमा शहबाज अहमदको हातबाट क्याच आउट हुनु अघि तीन चौका र पाँच छक्का सहित सर्वाधिक ७९ रन बनाए ।

ओपनर क्विन्टन डि कक ६ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मनन वोहरा १९ रनमा आउट भए पन्नी राहुलले दिपक हूडासँग तेश्रो विकेटका लागि ६१ बलमा ९६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई खेलमा फर्काए । २६ बलमा एक चौका र चार छक्का सहित ४५ रन बनाएका हूडाको विकेटको पतन पछि आएका मार्कस स्टोइनिस नौ  र कुर्नाल पान्ड्या गोल्डेन डकआउट हुँदा लखनउको क्वालिफायर्सको सपना चकनाचुर भयो ।

लखनउलाई रोक्ने क्रममा जश हेजलउडले सर्वाधिक तीन विकेट लिए भने मोहम्म्मद सिराज, हर्षल पटेल र वानिन्दु हसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।       

बेंगलोरको जितमा अविजित रहेका पाटिदारले ५४ बल खेल्दै १२ चौका र सात छक्काको मद्दतमा सर्वाधिक ११२ रनको पारी खेले । २८ बलमा अर्धशतक प्रहार गरेका उनले दोश्रो अर्धशतक २१ बलमा पुरा गर्दा ४९ बलमा शतक पुरा गरेका थिए । त्यस्तै उनले पछिल्लो ४९ रन मात्र १८ बलमा पुरा गरेका थिए ।

ओपनिङमा ब्याटिङ गर्न आएका कप्तान फाफ डु प्लेसिस गोल्डेन डकआउट भए पनि पाटिदारले पुर्व कप्तान विराट कोहलीसँग मिलेर ६६ रनको साझेदारी गर्दै बेंगलोरको पारी सम्हाले । कोहली २५, ग्लेन म्याक्सवेल नौ तथा महिपाल लौमरोर १४ रनमा आउट हुँदा बेंगलोर १३ दशमलब एक ओभरमा चार विकेटको नोक्सानीमा ११५ रनको अवस्थामा खुम्चिन पुग्यो ।  

तर दबाबमा परेको बेंगलोरको लागि पाटिदारले विकेट किपर दिनेश कार्तिकसँग चौथो विकेटका लागि ४१ बलमा अविजित ९२ रनको साझेदारी गर्दै २०० को स्कोर पार गराए । उनीहरुले अन्तिम पाँच ओभरमा ८४ रन जोड्दै बेंगलोरलाई विशाल योगफल सम्म डोर्याए । अविजित रहेका कार्तिकले २३ बलमा पाँच चौका र एक छक्का सहित अविजित ३७ रनको योगदान दिए ।

लखनउका मोहसिन खान, कुर्नाल पान्ड्या, आवेश खान र रवि बिश्नोईले समान १-१ विकेट हात पारे ।  

 

Click to comment

Trending