Headline

बढ्यो नेपाली खेलाडीको तलब 

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष तथा महिला खेलाडीको तलब बढाएको छ । क्यानको हिजो बसेको बोर्ड बैठकले महिला र पुरुष दुबै टोलीको तलब बढाउने निर्णय लिएको हो ।

क्यानले पुरुष खेलाडीहरुको ग्रेड ए, बी र सी सबैको समान १०-१० हजार तथा महिला खेलाडीको हकमा ग्रेड सीको पाँच हजार तथा ग्रेड बी र ए को समान ६-६ हजार बृद्दी गरेको हो ।

यस अघि ग्रेड ए, बी र सी का पुरुष खेलाडीहरुले क्रमश ५० हजार, ४० हजार र ३० हजार बुझ्दै आएकोमा अब क्रमश ६०, ५० र ४० हजार प्राप्त गर्नेछन् । ग्रेड ए का खेलाडीहरुमा कप्तान सन्दिप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले अब ६० हजार बुझ्ने छन् ।

त्यस्तै ग्रेड बी मा रहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख, शरद भेषावाकर, आरिफ शेख, अविनाश बोहरा र बिनोद भण्डारीले ५० हजार तथा ग्रेड सी का कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोब, शाहब आलम, सुशन भारी र पवन सर्राफले ४० हजार तलब थाप्ने छन् ।

महिला खेलाडीको हकमा ग्रेड ए का खेलाडीले पहिले `१५ हजार पाउने गर्दथे भने अब २१ हजार, ग्रेड बी काले १२ बाट १८ तथा ग्रेड सी काले १० हजारबाट १५ हजार तलब हात पार्ने छन् ।

महिला खेलाडीहरुमा कप्तान रुविना क्षेत्री, उपकप्तान इन्दु वर्मा, सिता राना मगर, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड ए मा, सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड बी तथा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल ग्रेड सी मा रहेका छन् ।

त्यस बाहेक क्यानले सबै ग्राउन्ड स्टाफहरूको तलब पनि बढाउने निर्णय लिएको छ ।क्यानले मैदानमा कार्यरत सबै कर्मचारीको तलब मासिक तीन हजारले बढाउँदा मैदान कार्यालय सहयोगीको मासिक पाँच तथा पिच क्युरेटरको मासिक ६ हजारका दरले बृद्दी गर्ने निर्णय गरेको हो ।  

 

Click to comment

Trending