Headline

मिलरले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा गुजरात आईपीएलको फाइनलमा 

Published

on

मध्यक्रमका ब्याटर डेविड मिलरले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दा यसै सिजनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न थालेको गुजरात टाइटान्सले राजस्थान रोयल्स माथि सात विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा पराजित भएको राजस्थानले फाइनल पुग्नका लागि अर्को एउटा अवसर प्राप्त गर्नेछ । उसले अब फाइनलमा आफ्नो स्थान बनाउनका लागि भोलि हुने रोयल च्यालेन्जर्स बेंगलोर र लखनउ सुपर जायन्ट्स बिचको विजेतासँग भिड्ने छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ओपनर जस बटलरको अर्धशतकको मद्दतमा पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १८८ रन बनायो भने जबाफी ब्याटिङ गरेको गुजरातले तीन विकेट गुमाएर तीन बल अगाडि लक्ष्य पार गर्यो ।

गुजरातलाई फाइनलमा स्थान सुरक्षित गराउने क्रममा डेविड मिलर र कप्तान हार्दिक पान्ड्याले चौथो विकेटका लागि ६१ बलमा अविजित १०६ रनको साझेदारी गरे । जितका लागि अन्तिम ६ बलमा १६ रन आवश्यक रहेको अवस्थामा मिलरले अन्तिम ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै गुजरातलाई फाइनल सम्म पुर्याए । अविजित रहेका मिलरले ३८ बल खेल्दै पाँच छक्का र तीन चौकाको मद्धतमा सर्वाधिक ६८ रन बनाए । त्यस्तै कप्तान पान्ड्याले पनि २७ बलमा अविजित ४० रनको पारी खेले ।

ओपनर तथा विकेट किपर रिद्दिमन साह शून्य रनमा आउट हुँदा खराब सुरुवात गरे पनि अर्का ओपनर शुबमन गिल र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका म्याथ्यु वेडले समान ३५-३५ रनको पारी खेल्दै गुजरातको पारी सम्हाले ।

यस अघि ओपनर यशस्वी जैसवाल तीन रन बनाउँदै पेभेलियन फर्किदा राम्रो सुरुवात गर्न नसकेको राजस्थानको लागि जस बटलरले ५६ बल खेल्दै १२ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ८९ रनको पारी खेले भने कप्तान सन्जु सामसनले ४७ तथा देवदत्त पड्डीकलले २८ रनको योगदान दिए । राजस्थानका अन्य ब्याटरहरु शिम्रोन हेटमायररियान पराग समान ४-४ रनमा आउट भए भने रविचन्द्रन अश्विनले अविजित दुई रन जोडे ।

गुजरातका हार्दिक पान्ड्या, रविश्रीनिवासन साई किशोर, यश दयाल र मोहम्मद शामी तथा राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याककोयले समान १-१ विकेट हात पारे । 

 

Click to comment

Trending