Headline

मुम्बईले जित निकाल्दा बेंगलोरको भाग्य चम्कियो, दिल्लीको प्लेअफको सपना चकनाचुर 

Published

on

मुम्बई इन्डियनले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अन्तिम लिग खेलमा दिल्ली क्यापिटल्स माथि पाँच विकेटको सहज जित निकाल्दा रोयल च्यालेन्जर्स बेंगलोरको भाग्य चम्किएको छ । प्लेअफमा प्रवेश पाउनका लागि आफ्नो अन्तिम लिग खेलमा मुम्बई माथि जित निकाल्नै पर्ने समीकरण रहे पनि हारको सामना गर्दा दिल्लीको प्लेअफ खेल्ने सपना चकनाचुर भएको छ । दिल्लीले हार्दा भाग्य चम्किएको बेंगलोर अंक तालिकामा चौथो स्थान हात पार्दै प्लेअफको यात्रा तय गर्यो ।

गुजरात टाइटान्स २० अंक सहित पहिलो, राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सको समान १८-१८ अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान दोश्रोर लखनउ तेश्रो तथा १६ अंक सहित बेंगलोर चौथो हुँदै प्लेअफको टिकट काट्न सफल भएका छन् ।  

दिल्लीले दिएको १६० रनको मध्यम लक्ष्य मुम्बईले १९ दशमलब एक ओभर खेल्दै पाँच विकेट गुमाएर जित दर्ता गरायो । 

मुम्बईका ओपनर तथा कप्तान रोहित शर्मा १३ बल खेल्दै मात्र दुई रन बनाएर आउट हुँदा खराब सुरुवात गरे पनि अर्का ओपनर इशान किशनले ३५ बलमा ४८ तथा डेवाल्ड ब्रेविसले ३३ बलमा ३७ रनको पारी खेल्दै पारी सम्हाले । उनीहरुले ५१ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जित तर्फ लगे पनि उनीहरुको विकेटको पतन पछि मुम्बई १४ दशमलब तीन ओभरमा ९५ रनको अवस्थामा खुम्चिन पुग्यो ।   

अन्तिम ३३ बलमा मुम्बईलाई ६४ रन आवश्यक रहेको अवस्थामा टिम डेविड र तिलक वर्माले २० बलमा ५० रन प्रहार गर्दै मुम्बईको जित सुनिश्चित गरे । डेविड ११ बल खेल्दै दुई चौका र चार छक्का सहित ३४ रन बनाएर आउट भए पनि वर्माले १७ बलमा अविजित २१ तथा रमनदिप सिंहले ६ बलमा १३ रन प्रहार गर्दा दिल्लीको प्लेअफको सपना तुहियो ।

दिल्लीका एनरिच नोर्किएशार्दुल ठाकुरले समान २-२ तथा कुलदिप यादवले एक विकेट निकाले पनि आफ्नो टोलीलाई जित दिलाउन पर्याप्त रहेन । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाएर १५९ रनको मध्यम योगफल मात्र बनाउन सक्यो ।

दिल्लीको तर्फको रोवमन पावेलले सर्वाधिक ४३ रन बनाए भने कप्तान ऋषभ पन्तले ३९ तथा ओपनर पृथ्वी शले पनि २४ रनको पारी खेले । दिल्लीका ओपनर डेविड वार्नर पाँच तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका मिचेल मार्श गोल्डेन डकआउट भए । त्यस बाहेक सरफराज खान १०, शार्दुल ठाकुर चार रनमा पेभेलियन फर्कँदा अक्सर पटेलले १९ रनको योगदान दिए ।

मुम्बईका जस्प्रित बुम्राले सर्वाधिक तीन तथा रमनदिप सिंहले दुई विकेट हात पार्दा ड्यानियल साम्स र मायंक मार्कंडेले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

Click to comment

Trending