Headline

टियुमा पहिलो जित हात पार्दा नेपाल क्लिन स्विप हुनबाट बच्यो  

Published

on

टियु क्रिकेट मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो जित दर्ता गराएको छ । युगान्डा विरुद्धको शृंखला अन्तर्गत चौथो खेलमा नेपालले १५ रनको जित हात पारेको हो । पाँच खेलको शृंखलामा ३-० ले पछि पर्दै शृंखला गुमाइसकेको नेपालले चौथो खेल जित्दै शृंखला ३-१ को अवस्था पुर्याएको छ भने क्लिन स्विप हुनबाट पनि बचेको छ ।   

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७ दशमलब पाँच ओभरमा खेल्दै आफ्ना सबै विकेट गुमाएर ९७ रन जोड्न सके पनि युगान्डाले पुरै १८ ओभर खेल्दै आठ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । ढिला गरेर सुरु हुँदा खेल १८ ओभर प्रति टोलीमा घटाइएको थियो ।

युगान्डालाई रोक्ने क्रममा आजको खेलमा नेपालको लागि डेब्यु गरेकी हिरनमयी रोयले सर्वाधिक दुई विकेट हात पारिन् भने अस्मिना कर्माचार्य, रुबिना क्षेत्री र कविता कुँवरले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित रोयले तीन ओभरमा ११ रन खर्चिन् । त्यस्तै अस्मिनाले दुई ओभरमा ६ रन दिँदा रुबिनाले चार ओभरमा १६ तथा कविताले तीन ओभरमा १७ रन खर्चिन पुगे ।     

 यस अघि नेपालको लागि विकेट किपर तथा ओपनर ज्योति पाण्डेले १३ बलमा सर्वाधिक १७, बिन्दु रावलले १६ तथा सिता राना मगरले ११ रनको पारी खेले भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।

नेपालका अन्य ब्याटरमा डली भट्ट, कविता कुँवर र अस्मिना कर्माचार्यले समान ६-६ रन जोडे भने, अप्सरी बेगमले चार, सरिता मगरले दुई, रुबिना क्षेत्री र इन्दु वर्माले १-१ रन भन्दा निकाल्न सकेनन् ।

 युगान्डाकी जानेट एमबाबाजीले सर्वाधिक २१ रन जोडिन् भने अन्यले उल्लेख्य योगदान दिन सकेनन् । यस अघि कोन्सी अवेकोले तीन तथा साराह अकिटेङले दुई विकेट निकाल्दा नेपाल सामान्य योगफलमा नै रोकिएको थियो ।   


  

Click to comment

Trending