Headline

कोहलीको अर्धशतकमा बेंगलोरको सहज जित, प्लेअफ पुग्न अरुको खेल कुर्न पर्ने

Published

on

पूर्व कप्तान विराट कोहलीको अर्धशतक र ग्लेन म्याक्सवेलको आक्रामक पारीको मद्दतमा बेंगलोरले शीर्ष स्थानको गुजरात टाइटान्स माथि आठ विकेटको सहज जित हात पारेको छ ।

जितसँगै बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेंगलोरले आजको खेलमा जित निकाले पनि उसले प्लेअफमा स्थान भने पक्का गर्न सकेको छैन । बेंगलोर भन्दा एक खेल कम खेलेको दिल्ली क्यापिटल्सले आफ्नो अन्तिम खेलमा हारको सामना गरेको खण्डमा मात्र बेंगलोरले प्लेअफमा स्थान बनाउन सक्ने छ । दिल्लीले आफ्नो अन्तिम खेलमा मुम्बईलाई पराजित गरेको खण्डमा प्लेअफमा पुग्ने छ भने हारको सामना गर्दा बेंगलोरको भाग्य चम्कने छ ।

आजको खेलमा बेंगलोरले जित निकाल्दा पन्जाब किंग्स र सनराइजर्स हैदराबाद एक खेल अगावै प्लेअफको दौडबाट बाहिरिन पुगेका छन् । मुम्बई, चेन्नाई र कोलकाताले यस अघि नै समुह चरण पार गर्न सकेनन् भने गुजरात र लखनउले प्लेअफको टिकट काटिसकेका छन् ।  

गुजरातले दिएको १६९ रनको चुनौतिपूर्ण लक्ष्य बेंगलोरले आठ बल अगावै दुई विकेट गुमाएर जित हात पार्यो ।

बेंगलोरको जितमा खेलको प्लेयर अफ द म्याच घोषित विराट कोहलीले रशिद खानको बलमा आउट हुनु अघि ५४ बल खेल्दै आठ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ४४ तथा अविजित रहेका ग्लेन म्याक्सवेलले १८ बलमा ४० रनको आक्रामक पारी खेले ।

गुजरातका रशिद खानले सर्वाधिक दुई विकेट आफ्नो नाममा दर्ता गराए ।      

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले ओभरमा पाँच विकेट गुमाएर १६८ रनको चुनौतिपूर्ण योगफल बनायो ।

सामान्य सुरुवात गरेको गुजरातको लागि अविजित रहेका कप्तान हार्दिक पान्ड्याले सर्वाधिक ६२ रनको पारी खेले । ४७ बलको सामना गरेका पान्ड्याले चार चौका र तीन छक्का प्रहार गरे । 

पान्ड्या बाहेक गुजरातको लागि डेविड मिलरले ३४, विकेट किपर रिद्दिमन साहले ३१ तथा अविजित रहेका रशिद खानले ६ बलमा १९ रनको योगदान दिए । त्यस बाहेक ओपनर शुबमन गिल एक, म्याथ्यु वेड १६ तथा राहुल टेवाटिया दुई रन बनाएर आउट भए ।

बेंगलोरका जश हेजलउडले सर्वाधिक दुई विकेट हात पार्दा ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending