Headline

कोलकाता माथि दुई रनको सनसनीपूर्ण जित निकाल्दै लखनउ प्लेअफमा 

Published

on

क्विन्टन डि ककको शतक तथा मार्कस स्टोइनिसले अन्तिम दुई बलमा दुई विकेट निकाल्दा लखनउ सुपर जयान्ट्सले कोलकाता नाइट राइड़र्स माथि दुई रनको सनसनीपूर्ण जित निकाल्दा १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यस सिजन नव प्रवेशी टोलीहरु लखनउ र गुजरात टाइटान्सले मात्र प्लेअफको लागि आफ्नो स्थान पक्का गर्न सकेका छन् । आजको खेलमा पराजित हुँदा कोलकाता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स पछि प्लेअफबाट बाहिरिने तेश्रो टोली बनेको छ । समुह चरणमा खेलेका १४ खेल पछि १८ अंक बटुल्दै लखनउ अंक तालिकाको दोश्रो स्थानमा छ । सनराइजर्स हैदराबाद र पन्जाब किंग्सको पनि समान १२-१२ अंक नै रहे पनि उनीहरुको अझै एक खेल हातमा छ भने कोलकाताले आफ्नो १४ खेल खेलिसक्दा १२ अंक मात्र जोड्न सक्यो ।    

ओपनरद्वय क्विन्टन डि कक र केएल राहुलले कीर्तिमानी ब्याटिङ गर्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले पुरै २० ओभर खेल्दा कुनै पनि विकेट नगुमाई २१० रनको विशाल योगफल बनायो भने कोलकाताले पनि २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २०८ रन मात्र जोड्न सक्यो ।

कोलकातालाई अन्तिम ओभरमा जितका लागि २१ रन आवश्यक रहेको अवस्थामा रिंकु सिंहले मार्कस स्टोइनिसको पहिलो चार बलमा क्रमश चौका, लगातार दुई छक्का र दुई रन जोड्दै जित नजिक पुर्याए । तर अन्तिम ओभरको पाँचौँ बलमा रिंकु सिंह र अन्तिम बलमा उमेश यादवको विकेट निकाल्दै स्टोइनिसले लखनउलाई दुई रनको सनसनीपूर्ण जित दिलाउँदै प्लेअफको यात्रा पनि तय गराए । 

ओपनरद्वय वेंकटेश ऐयर शून्य तथा अभिजित तोमर चार रनमा आउट हुँदा निकै खराब सुरुवात गरेको कोलकाताको लागि कप्तान श्रेयस ऐयर र नितिश राणाले तेश्रो विकेटका लागि २७ बलमा ५६ रनको साझेदारी गर्दै पारी सम्हाले । आक्रामक पारी खेलेका राना २२ बलमा ४२ रन जोड्दै पेभेलियन फर्किए ।

ऐयरले राणाको विकेटको पतन पछि क्रिजमा आएका विकेट किपर साम बिलिङ्ससँग मिलेर  ४० बलमा ६६ रन जोड्दै कोलकाताको पारी अघि बढाए । २९ बलमा ५० रन बनाएका ऐयर र २४ बलमा ३६ रन बनाएका बिलिङ्सको विकेटको पतन पछि क्रिजमा आएका आन्द्रे रसेल पनि ११ बलमा पाँच रन जोड्दै आउट हुँदा कोलकाता दबाबमा आयो ।

१५ बल खेलेका रिंकु सिंहले दुई चौका र चार छक्काको मद्दतमा ४० तथा सुनिल नारायणले सात बलमा २१ रन जोड्दै कोलकातालाई जित नजिक पुर्याए पनि अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदा हारको सामना गर्न बाध्य भयो । 

कोलकातालाई रोक्ने क्रममा चार ओभरमा २० तथा दुई ओभरमा २३ रन खर्चिएका मोहसिन खान र मार्कस स्टोइनिसले समान ३-३ विकेट हात पारे ।

यस अघि लखनउको लागि अविजित रहेका विकेट किपर क्विन्टन डि कक र कप्तान केएल राहुलले क्रमश १४० र ६८ रनको पारी खेले । खेलको प्लेयर अफ द म्याच घोषित डि ककले ७० बलमा समान १०-१० चौका र छक्का तथा राहुलले ५१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । आईपीएलको इतिहासमा कुनै पनि जोडीले पुरै २० ओभर खेलेको यो पहिलो घटना हो भने पहिलो विकेटका लागि सबैभन्दा ठुलो साझेदारी पनि हो ।   

 

Click to comment

Trending