Headline

मुम्बई माथि सनसनीपूर्ण जित निकाल्दा हैदराबादको प्लेअफको आशा जीवितै 

Published

on

यस अघि नै प्लेअफको दौडबाट बाहिरी सकेको मुम्बई इन्डियन्स माथि तीन रनको सनसनीपूर्ण जित निकाल्दा सनराइजर्स हैदराबादले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने आशा जीवितै राख्न सफल भएको छ ।

 १२ खेलमा १२ अंक जोड्दै अंक तालिकाको आठौँ स्थानमा रहेको हैदराबादले आफ्नो अन्तिम खेलमा १२ अंक नै बटुल्न सफल पन्जाब किंग्सको सामना गर्नेछ । उक्त खेलमा जित निकाल्न सकेर मात्र हैदराबाद प्लेअफमा पुग्दैन । त्यसका लागि अन्य टोलीको नतिजामा पनि निर्भर रहने छ । 

आजको खेलमा पराजित हुँदा पाँच पटकको च्याम्पियन मुम्बईले १३ औँ खेलमा १० हारको सामना गर्यो । तीन खेलमा मात्र जित निकाल्न सकेको मुम्बई अंक तालिकाको पुछारमा रहेको छ ।  

खेलको प्लेयर अफ द म्याच घोषित राहुल त्रिपाठीले अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभर खेल्दै ६ विकेट गुमाएर १९३ रनको विशाल योगफल तयार पार्यो । जबाफी ब्याटिङ गरेको मुम्बईले राम्रो सुरुवात गरे पनि तल्लो क्रम चल्न नसक्दा पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १९० रन मात्र जोड्यो ।

हैदराबादको लागि राहुल त्रिपाठीले ४४ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ७६ रन बनाए भने ओपनिङमा आएका प्रियम गर्गले २६ बलमा ४२ तथा विकेट किपर निकोलस पुरनले २२ बलमा ३८ रनको योगदान दिए ।

ओपनर अभिषेक शर्मा नौ रनमा आउट हुँदा खराब सुरुवात गरे पनि त्रिपाठीले दोश्रो विकेटका लागि गर्गसँग ७८ रन तथा तेश्रो विकेटका लागि पुरनसँग ७६ रनको साझेदारी गर्दै हैदराबादको पारी सम्हाले ।

मुम्बईका ओपनरद्वय रोहित शर्मा र इशान किशानले पहिलो विकेटका लागि १० दशमलब चार ओभरमा ९५ रन जोड्दै आक्रामक सुरुवात दिलाए । तर ६ रनको अन्तरालमा ३६ बलमा ४८ रन बनाएका कप्तान रोहित र ३४ बलमा ४३ रन जोडेका विकेट किपर किशान आउट भए ।

अन्तिम १२ बलमा जितका लागि १८ रन चाहिएको अवस्थामा १८ बल खेल्दै तीन चौका र चार छक्का सहित तुफानी ४६ रनको पारी खेलेका टिम डेविड दुर्भाग्यपूर्ण रन आउट हुँदा जित नजिक पुगेर पनि मुम्बईले हारको सामना गर्न पर्यो ।

मुम्बईका रमनदिप सिंहले सर्वाधिक तीन विकेट लिए भने मुम्बईलाई रोक्ने क्रममा हैदराबादका उमरान मलिकले पनि तीन विकेट नै आफ्नो नाममा दर्ता गराए । 

Click to comment

Trending