Headline

लखनउलाई पाखा लगाउँदै राजस्थान अंक तालिकाको दोश्रो स्थानमा उक्लियो 

Published

on

लखनउ सुपर जायन्ट्स माथि २४ रनको फराकिलो जित निकाल्दै राजस्थान रोयल्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

समान १३-१३ खेल खेलेका राजस्थान र लखनउको समान १६-१६ अंक रहे पनि नेट रन रेटका आधारमा राजस्थान अंक तालिकाको दोश्रो स्थानमा तथा लखनउ तेश्रो स्थानमा छन् । लगातार दुई खेलमा पराजित हुँदा लखनउले प्लेअफमा पुग्नका लागि अन्तिम खेल सम्म कुर्न पर्ने भएको छ भने आजको जितले राजस्थानले पनि प्लेअफको सम्भावना कायमै राखेको छ ।

यस सिजन गुजरात पहिलो स्थानमा रहँदै प्लेअफमा पुग्ने पक्का भएको छ भने अझै पनि चेन्नाई र मुम्बई बाहेक बाँकी सात टोलीको प्लेअफको आशा जीवितै छ ।

प्लेअफमा स्थान सुरक्षित गर्नका लागि १७९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर ब्याटिङमा आएको लखनउले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १५४ रन भन्दा जोड्न सकेन ।

लखनउका दिपक हूडाले ३९ बलमा ५९, मार्कस स्टोइनिसले १७ बलमा २७, कुर्नाल पान्ड्याले २५  तथा कप्तान केएल राहुलले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा लखनउले खेलमा हारको मात्र सामना गरेन प्लेअफको लागि अर्को खेल सम्म कुर्न पर्ने भयो ।

लखनउलाई रोक्ने क्रममा ट्रेन्ट बोल्ट, प्रसिध कृष्णा र ओबेड म्याककोएले समान २-२ विकेट लिए भने युज्बेन्द्र चाहल र रविचन्द्रन अश्विनले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । खेलको प्लेयर अफ द म्याच घोषित ट्रेन्ट बोल्टले चार ओभरमा मात्र १८ रन दिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १७८ रनको चुनौतिपूर्ण योगफल बनायो ।     

राजस्थानको तर्फबाट ओपनर जस बटलरले बाहेक सबै ब्याटरले दोहोरो अंकमा रन जोडे । राजस्थानका ओपनर यशस्वी जैसवालले २९ बलमा सर्वाधिक ४१ रन बनाए भने देवदत्त पड्डीकलले १८ बलमा आक्रामक ३९ तथा कप्तान सन्जु सामसनले ३२ रनको पारी खेले । 

Click to comment

Trending