IPL

रसेलको अलराउण्ड प्रदर्शनमा कोलकातासँग हैदराबादको लज्जास्पद हार, प्लेअफको यात्रा कठिन बन्दै 

Published

on

आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गर्दा सनराइजर्स हैदराबादले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औँ खेलमा कोलकाता नाइट राइडर्ससँग ५४ रनको लज्जास्पद हारको सामना गरेको छ ।

आजको खेलमा हारको सामना गर्दा हैदराबादको प्लेअफको यात्रा कठिन बनेको छ भने जित निकाल्न सफल कोलकाताले आफ्नो सम्भावना कायमै राखेको छ । जित निकाल्दै महत्वपूर्ण दुई अंक जोडेको कोलकाता १३ खेल पछि १२ अंकका साथ अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको हैदराबाद १० अंकका साथ अंक तालिकाको आठौँ स्थानमा झरेको छ ।

सुरुवाती दुई खेलमा हार बेहोरेको हैदराबादले त्यस पछिका पाँच खेलमा लगातार जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको थियो । तर त्यस पछिका लगातार पाँच खेलमा हारको सामना गर्दा उसको प्लेअफको यात्रा निकै कठिन बनेको छ ।

मध्य सुरुवात गरे पनि आन्द्रे रसेलले पारीको अन्यमा आक्रामक पारी खेल्दा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताकाले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको चुनौतिपूर्ण योगफल बनायो । आन्द्रे रसेलले घातक बलिङ गर्दा हैदराबादले पुरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १२३ रन मात्र जोड्न सक्यो ।

कोलकाताको लागि सर्वाधिक रन जोड्दै खेलको प्लेयर अफ द म्याच घोषित आन्द्रे रसेलले २८ बल खेल्दै तीन चौका र पाँच छक्का सहित अविजित ४९ रन बनाए । त्यस्तै उनले बलिङमा चार ओभरमा २२ रन दिएर सर्वाधिक तीन विकेट हात पारे ।        

रसेल बाहेक कोलकाताको पारीमा साम बिलिंग्सले ३४, ओपनर अजिंक्य रहानेले २८, नितिश राणाले २६ तथा कप्तान श्रेयस ऐयरले १५ रन जोडे ।

बलिङमा रसेल बाहेक टिम साउथीले दुई विकेट लिए भने उमेश यादव, सुनिल नारायण र वरुण चक्रवर्तिले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।

हैदराबादका ओपनर अभिषेक शर्माले ४३, ऐडेन मार्क्रमले ३२ तथा शशांक सिंहले ११ रनको पारी खेले भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।   

 

Click to comment

Trending