Headline

पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, प्लेअफमा पुग्ने आशामा धक्का 

Published

on

पन्जाब किंग्ससँग ५४ रनको लज्जास्पद हारको सामना गर्दा रोयल च्यालेन्जर्स बेंगलोरको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने आशामा धक्का लागेको छ ।  

आजको खेल पछि १३ खेल खेलेको बेंगलोर १४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । एक खेल मात्र बाँकी रहेको अवस्थामा बेंगलोरले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खेलमा जित निकालेर मात्र पुग्दैन अन्य खेलको नतिजामा पनि निर्भर रहन पर्ने हुन्छ । समान १२-१२ खेल खेलेका दिल्ली र पन्जाब समान १२-१२ अंक सहित क्रमश पाँचौँ र छैटौँ स्थानमा छन् । आजको खेलमा जित निकाल्दा पन्जाबले प्लेअफको सम्भावना जीवितै राख्न सफल भएको छ । 

यस सिजन गुजरातले प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्दा चेन्नाई र मुम्बई प्लेअफको दौडबाट बाहिरिसकेका छन् बाँकी सात टोली सबैको सम्भावना अझै कायम छ ।     

लियाम लिविंगस्टोन र जोनी बेयरस्टोको आक्रामक अर्धशतकमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै नौं विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पार्यो भने २१० रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले पुरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो ।

पन्जाबको तर्फबाट लिविंगस्टोनले ४२ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतमा सर्वाधिक ७० रन बनाए भने खेलको प्लेयर अफ द म्याच घोषित ओपनर बेयरस्टोले २९ बलमा चार चौका र सात छक्का प्रहार गर्दै २२७ दशमलब ५८ को स्ट्राइक रेटमा ६६ रनको पारी खेले ।

बेंगलोरलाई रोक्ने क्रममा पन्जाबका कागिसो रबाडाले चार ओभरमा २१ रन दिएर सर्वाधिक तीन विकेट लिए भने महँगो साबित भए पनि ऋषि धवन र राहुल चाहारले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

हर्षल पटेलले चार तथा वानिन्दु हसरंगाले चार ओभरमा १५ रन खर्चिएर दुई विकेट लिए पनि अन्य बलरहरु महँगो साबित हुँदा पन्जाबले ठुलो योगफल बनाउन सफल रह्यो ।        

ग्लेन म्याक्सवेलले बेंगलोरको तर्फबाट सर्वाधिक ३५ रन बनाए भने रजत पाटीदारले २६, विराट कोहलीले २०, दिनेश कार्तिक र हर्षल पटेलले समान ११-११ तथा कप्तान फाफ डु प्लेसिसले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


 

Click to comment

Trending