Headline

रशिद खानले घातक बलिङ गर्दा गुजरात बन्यो प्लेअफ पुग्ने पहिलो टोली  

Published

on

लेग स्पिनर रशिद खानले घातक बलिङ गर्दा शीर्ष स्थानको लखनउ सुपर जायन्ट्स माथि ६२ रनको फराकिलो जित निकाल्दै  गुजरात टाइटान्स १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । 

आजको खेलमा जित हात पार्दा लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा पुगेको हो । आजको खेलमा लज्जास्पद हारको सामना गरेको लखनउ भने दोश्रो स्थानमा झरेको छ ।

१४५ रनको सामान्य लक्ष्य पछ्याएको लखनउले १८ बलको अन्तरालमा पछिल्ला ६ विकेट गुमाउँदा १३ दशमलब पाँच ओभरमा ८२ रन जोड्दा अलआउट हुन पुग्यो ।

लखनउलाई सानो स्कोरमा रोक्ने क्रममा लेग स्पिनर रशिद खानले तीन दशमलब पाँच ओभर बलिङ गर्दै २४ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने रवि श्रीनिवासन साइ किशोर र यश दयालले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । साइ किशोरले दुई ओभरमा सात रन मात्र दिए । त्यस्तै एक विकेट मात्र हात पारेका तीब्र गतिका बलर मोहम्मद शामीले तीन ओभरमा पाँच रन खर्चिए ।

लखनउका दिपक हूडाले २७, ११ औँ नम्बरमा ब्याटिङ गर्न आएका आवेश खानले चार बलमा १२ तथा ओपनर क्विन्टन डि ककले मात्र दोहोरो अंकमा रन निकाल्न सके भने कप्तान केएल राहुल आठ, करण शर्मा चार, कुर्नाल पान्ड्या पाँच, आयुष बदोनि आठ, मार्कस स्टोइनिस दुई तथा जेसन होल्डर एक रनमा पेभेलियन फर्किए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातको लागि ओपनर शुबमन गिलले अविजित रहँदै अर्धशतकीय पारी खेल्दा २० ओभरमा चार विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो ।

खेलको प्लेयर अफ द म्याच घोषित भएका गिलले ४९ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ६३ रन बनाए । गिल बाहेक डेविड मिलरले २६ रनको योगदान दिँदा राहुल टेवाटियाले अविजित रहँदै २२ रनको पारी खेले ।

लखनउका आवेश खानले सर्वाधिक दुई विकेट तथा मोहसिन खान र जेसन होल्डरले समान १-१ विकेट हात पारे । 

 

Click to comment

Trending