Headline

कुशल र दिपेन्द्रको अर्धशतकमा नेपाललाई जिम्बाब्वे विरुद्धको ऐतिहासिक शृंखला 

Published

on

ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गर्दा घरेलु टोली नेपालले जिम्बाब्वे ए विरुद्ध ऐेतिहासिक शृंखला हात पारेको छ ।  

तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्ष्यमा पारेको हो । पहिलो खेलमा पराजित भएको नेपालले त्यस पछिका बाँकी दुई खेलमा जित हात पार्दै शृंखला माथि कब्जा जमाउन सफल भएको हो ।

कुशल र दिपेन्द्रले अर्धशतक प्रहार गर्दा नेपालले २१४ रनको लक्ष्य चार विकेट गुमाएर १७ बल अगाडि जित दर्ता गरायो । वर्षाका कारण ढिला गरेर सुरु हुँदा ३३ ओभर प्रति टोलीमा छोट्याइएको खेलमा जिम्बाब्वे ३२ दशमलब एक ओभरमा आफ्ना सबै विकेट गुमाएर २१३ रन बनायो ।

नेपालको जितमा ओपनर कुशलले सर्वाधिक ६४ रन बनाए भने अविजित रहेका दिपेन्द्रले ६० रनको पारी खेले । ६१ बलको सामना गरेका कुशलले सात चौका र चार छक्का तथा ४३ बलमा दिपेन्द्रले चार चौका र तीन छक्का प्रहार गरे ।

नेपालको जितमा अर्का ओपनर आसिफ शेखले २७ बलमा २९ तथा विकेट किपर बिनोद भण्डारीले अविजित २८ रनको योगदान दिए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनिल धमला ६ र रोहित पौडेल गोल्डेन डकआउट भए ।

ओपनरद्वय कुशल र आसिफले पहिलो विकेटका लागि १२ दशमलब एक ओभरमा ७३ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिए । तर १८ रनको अन्तरालमा धमला, कुशल र रोहित पेभेलियन फर्किएर  दबाबमा आए पनि दिपेन्द्र र भण्डारीले पाँचौँ विकेटका लागि नौ दशमलब तीन ओभरमा ८४ रन जोड्दै नेपालको जित सुनिश्चित गरे ।

यस अघि खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालका तीब्र गतिका बलर किशोर महतोले पाँच विकेट दर्ता गराए पनि जिम्बाब्वेले २०० रन भन्दा माथिको योगफल बनाउन सफल भयो ।

जिम्बाब्वेको तर्फबाट ओपनर तथा विकेट किपर तडीवान्शे मरुमानीले ३१ बलमा सर्वाधिक ५०, कुड्जाई मौञ्जेले ३९, रोय कैयाले ३६ तथा कप्तान टोली मुन्योङ्गाले २४ रनको पारी खेले ।

नेपालका किशोर महतोले सात ओभरमा ४३ रन दिएर सर्वाधिक पाँच विकेट लिए भने सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । निकै महँगो साबित हुँदा विकेट पनि निकाल्न नसकेका नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले ६ ओभरमा ५६ रन खर्चिए ।

जिम्बाब्वेका ब्रान्डन मवुताले सर्वाधिक तीन विकेट आफ्नो नाममा दर्ता गराए ।     

 

Click to comment

Trending