Headline

चेन्नाईसँग दिल्लीको लज्जास्पद हार 

Published

on

ओपनर डेवन कन्वेको आक्रामक अर्धशतक तथा मोईन अलीको घातक बलिङमा दिल्ली क्यपिटल्सले चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा ९१ रनको लज्जास्पद हारको सामना गरेको छ ।

यस अघि नै प्ले अफको सम्भावना लगभग गुमाइसकेको चेन्नाईसँग फराकिलो हार बेहोर्दा दिल्लीको पनि यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुग्ने आशामा धक्का लाग्न पुगेको छ । ११ खेल खेलेको दिल्लीको यो छैटौँ हार हो भने ११ औँ खेलमा चेन्नाईले आफ्नो चौथो जित दर्ता गरायो । १० अंक सहित दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा छ भने आठ अंकका साथ दिल्ली आठौँ स्थानमा उक्लन सफल भएको छ ।

चेन्नाईले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १७ दशमलब चार ओभर खेल्दा आफ्ना सबै विकेट गुमाएर ११७ रन भन्दा जोड्न सकेन ।

तेश्रो नम्बरमा ब्याटिङ गर्दै मिचेल मार्शले दिल्लीको तर्फबाट सर्वाधिक २५, आठौँ नम्बरमा ब्याटिङ गर्दै शार्दुल ठाकुरले २४, कप्तान ऋषभ पन्तले २१ तथा ओपनर डेविड वार्नरले १९ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन निकाल्न सकेनन् ।

दिल्लीलाई सस्तोमा नै समेट्ने क्रममा मोईन अलीले किफायती बलिङ गर्दै चार ओभरमा १३ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने ड्वेन ब्राभो, मुकेश चौधरी र सिमर्जित सिंहले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २०८ रनको विशाल योगफल तयार पार्यो ।

चेन्नाईको तर्फबाट ओपनर डेवन कन्वेले ४९ बल खेल्दै सर्वाधिक ८७ रन जोडे । सात चौका र पाँच छक्का प्रहार गरेका उनले पहिलो विकेटका लागि अर्का ओपनर रुतुराज गायकवाडसँग मिलेर ११ ओभरमा ११० रन जोड्दै चेन्नाईलाई आक्रामक सुरुवात दिए । गायकवाड ४१ रन जोड्दै पेभेलियन फर्किए ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शिवम दुबेले १९ बलमा ३२ तथा कप्तान महेन्द्र सिंह धोनीले आठ बलमा दुई छक्का र एक चौका सहित २१ रनको पारी खेल्दा चेन्नाईले २०० रनको योगफल कटाउन सफल भयो ।

महँगो साबित भए पनि दिल्लीका एनरिच नोर्किएले चार ओभरमा ४२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने खलिल अहमदले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।        

Click to comment

Trending