Headline

कोहली फेरी पनि गोल्डेन डकआउट, हसरंगाको पाँच विकेटमा बेंगलोरको फराकिलो जित 

Published

on

वानिन्दु हसरंगाको घातक बलिङ गर्दै पाँच विकेट हात पार्दा तथा कप्तान फाफ डु प्लेसिसको अर्धशतक र दिनेश कार्तिकको आक्रामक पारी खेल्दा रोयल च्यालेन्जर्स बेंगलोरले १५ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ५४ औँ खेलमा सनराइजर्स हैदराबाद माथि ६७ रनको फराकिलो जित निकाल्न सफल भएको छ ।

यस सिजन आफ्नो १२ औं खेलमा बेंगलोरको यो सातौँ जित हो । जितसँगै बेंगलोरले प्ले-अफमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ । हैदराबादको भने यस सिजनको छैटौँ र लगातार चौथो हार हो । आजको खेलमा पराजित हुँदा १० अंक सहित अंक तालिकाको छैटौँ स्थानमा रहेको हैदराबादले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । आजको खेलमा जित निकाल्न सकेको भए हैदराबाद १२ अंक सहित अंक तालिकाको चौथो स्थानमा उक्लने थियो ।

बेंगलोरले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले १९ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर १२५ रन भन्दा जोड्न सकेन ।  

हैदराबादले सुरुवात राम्रो गर्न सकेन । उसका दुई ओपनर डकआउट हुनुको साथै  ११ रनको अन्तरालमा पछिल्ला पाँच विकेट गुमाउँदा फराकिलो हारको सामना गर्न बाध्य भयो । पारीको पहिलो बलमा नै नन स्ट्राइक एण्डमा रहेका ओपनर तथा कप्तान केन विलियमसन रन आउट हुन पुगे भने अर्का ओपनर अभिषेक शर्मा पनि तीन बल खेल्दै डकआउट भए ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका राहुल त्रिपाठीले ३७ बलमा सर्वाधिक ५८ रन प्रहार गर्दै हैदराबादको पारी सम्हाले । तर उनको विकेटको पतनसँगै त्यस पछिका ब्याटरहरु पनि लगातार रुपमा आउट भए । 

हैदराबादलाई सस्तोमा समेट्ने क्रममा बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक पाँच विकेट हात पारे । चार ओभर बलिङ गरेका उनले एक मेडन सहित मात्र १८ रन खर्चिए । त्यस बाहेक जश हेजलउडले दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र हर्षल पटेलले पनि आ-आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।   

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको बेंगलोरले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १९२ रन बनायो ।

पुर्व कप्तान विराट कोहली पारीको पहिलो बलमा नै रोयल डकआउट हुँदा खराब सुरुवात गरेको बेंगलोरको लागि कप्तान फाफ डु प्लेसिसले अविजित रहँदै अर्धशतक तथा पारीको अन्त्य तिर विकेट किपर ब्याटर दिनेश कार्तिकले आक्रामक पारी खेल्दै विशाल योगफल सम्म पुर्याए ।

५० बलको सामना गरेका डु प्लेसिसले आठ चौका र दुई छक्का सहित सर्वाधिक ७३ रन बनाए । त्यस बाहेक अर्धशतक बनाउनबाट दुई रनले चुकेका रजत पाटिदारले ३८ बलमा ४८, ग्लेन म्याक्सवेलले २४ बलमा ३३ रन बनाउनुको साथै कार्तिकले आठ बल खेल्दा चार छक्का र एक चौकाको मद्दतमा अविजित ३० रनको तुफानी पारी खेले ।

हैदराबादका जगदीश सुचितले सर्वाधिक दुई विकेट निकाल्दा कार्तिक त्यागीले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending