Headline

कोलकाता माथि ७५ रनको फराकिलो जित निकाल्दै लखनउ अंक तालिकाको शिर्ष स्थानमा 

Published

on

क्विन्टन डि कक ब्याट तथा आवेश खान र जेसन होल्डर ब्याटबाट चम्कँदा यसै सिजनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेको लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्स माथि ७५ रनको फराकिलो जित हात पारेको छ ।

जितसँगै लखनउ अंक तालिकाको शिर्ष स्थानमा पनि उक्लन सफल भएको छ । ११ खेल खेलेको लखनउ आठ जित र तीन हार सहित १६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । ११ खेलमा समान १६ अंक रहे पनि नेट रन रेटका आधारमा गुजरात टाइटान्स दोश्रो स्थानमा खस्किएको छ ।      

लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १०१ रन भन्दा जोड्न सकेन । कोलकाताले पछिल्लो पाँच विकेट मात्र १६ रनको अन्तरालमा गुमाउँदा फराकिलो हार बेहोर्न बाध्य भयो ।  

कोलकाताका आन्द्रे रसेलले आक्रामक पारी खेल्दै १९ बलमा पाँच छक्का र तीन चौका सहित सर्वाधिक ४५ रनको पारी खेले भने सुनिल नारायणले २२ तथा ओपनर आरोन फ़िञ्चले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोलकाताका अन्य ब्याटरहरुमा ओपनर बाबा इन्द्रजित डकआउट, कप्तान श्रेयस ऐयर र रिंकु सिंह समान ६-६, नितिश राणा दुई, अनुकुल रोय र टिम साउथी डक आउट भए ।   

कोलकातालाई रोक्ने क्रममा आवेश खान र जेसन होल्डरले समान ३-३ विकेट लिए भने मोहसिन खान, दुश्मन्था चमिरा र रवि बिश्नोईले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । तीन ओभरमा आवेशले १९ रन खर्चिए भने निकै किफायती बलिङ गरेका मोहसिनले तीन ओभर बलिङ गर्दा मात्र ६ रन खर्चिए । 

ओपनर तथा कप्तान केएल राहुल एक बल पनि नखेल्दै रन आउट हुँदा खराब सुरुवात गरेको लखनउको लागि विकेट किपर तथा ओपनर क्विन्टन डि ककले अर्धशतक तथा दिपक हूडाले आक्रामक पारी खेल्दा २० ओभरमा सात विकेट गुमाएर १७६ रनको विशाल योगफल खडा गर्न सफल भयो ।

२९ बलको सामना गरेका डि ककले चार चौका र तीन छक्का सहित सर्वाधिक ५० रन बनाए भने हूडाले २७ बलमा चार चौका र दुई छक्का सहित ४१ रनको पारी खेले । उनीहरुले दोश्रो विकेटका लागि ३९ बलमा ७१ रन जोड्दै राम्रो सुरुवात दिए ।

त्यस बाहेक लखनउको पारीमा मार्कस स्टोइनिसले १४ बलमा २८, कुर्नाल पान्ड्याले २५, आयुष बदोनिले १५ तथा जेसन होल्डर चार बलमा दुई छक्का सहित १३ रनको पारी खेले ।

आन्द्रे रसेलले सर्वाधिक दुई विकेट हात पार्दा सुनिल नारायण, टिम साउथीशिवम मावीले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

Click to comment

Trending