Headline

बलरहरू हाबी भए पनि खराब ब्याटिङका कारण हार्यो नेपाल 

Published

on

बलरहरु हाबी भए पनि ब्याटरहरुको खराब ब्याटिङका कारण जिम्बाब्वे ए विरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपालले हारको सामना गरेको छ । आजको खेलमा तीन विकेटको सङ्घर्षपूर्ण जित निकाल्दै जिम्बाब्वेले तीन खेलको एकदिवसीय शृंखलामा १-० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३१ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर १३६ रन मात्र जोड्न सक्यो भने जिम्बाब्वेले २६ ओभर खेल्दै सात विकेट गुमाएर लक्ष्य पार गर्यो ।   

जिम्बाब्वेको जितमा अविजित रहेका ओपनर इन्नोसेन्ट कैयाले ४८ बल खेल्दै चार चौका र एक छक्काको मद्धतमा सर्वाधिक ४८ रन बनाए भने अर्का ओपनर सेफस झुवाओले सन्दिप लामिछानेको बलमा आउट हुनु अघि २९ बलमा ३२ रनको पारी खेले ।

त्यस बाहेक रोय कैयाले १४ रन जोड्दा, कप्तान टोनी मुन्योङ्गा, लुक जोंग्वी र जोनाथन क्याम्पबेलले समान ५-५, तडीवान्शे मरुमानीले चार  तथा क्लाइभ मदान्देले एक रन भन्दा जोड्न सकेनन् भने ब्राड इभान्सले अविजित रहँदै १७ रनको योगदान दिए ।

नेपालका कप्तान सन्दिप लामिछाने र करण केसीले समान २-२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए । सन्दिपले १० ओभरमा ३२ रन दिए भने करणले पाँच ओभरमा ३० रन खर्चिए ।  

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको नेपालको तर्फबाट सोमपाल कामीले छैटौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका उनले दुई चौका र एक छक्का प्रहार गरे ।

सोमपाल बाहेक नेपालको तर्फबाट करण केसीले ३६ बलमा २५, ओपनर कुशल भुर्तेलले १० बलमा १९, दिपेन्द्र सिंह ऐरीले १८ रनको पारी खेले भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका ओपनर तथा विकेट किपर आसिफ शेख र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका आसिफ शेख समान ५-५, कप्तान सन्दिप लामिछाने चार, रोहित कुमार पौडेल तीन, आदिल अन्सारी दुई तथा सुशन भारीले रनको खाता खोल्न भ्याएनन् भने सागर ढकाल एक रनमा अविजित रहे । 

नेपाललाई सानो योगफलमा रोक्ने क्रममा ब्राड इभान्सले आठ दशमलब तीन ओभर बलिङ गर्दै सर्वाधिक चार विकेट लिए भने भिक्टर न्यौची, ब्रान्डन मवुता र सेफस झुवाओले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । महँगो साबित भएका न्यौचीले ६ ओभरमा ४७ रन दिए भने मवुताले सात ओभरमा २४ तथा झुवाओले दुई ओभरमा नौ रन मात्र खर्चिए ।  

Click to comment

Trending