Headline

विदेशी फ्रेन्चाइज लिगको आफ्नो डेब्यु खेलमा सिताको उत्कृष्ट प्रदर्शन, रुबिना सुरुवाती ११ मा पर्न सकिनन्

Published

on

युएईमा जारी फेयर ब्रेक इन्भिटेसनल ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टोलीकी उपकप्तान सिता राना मगरले उत्कृष्ट सुरुवात गर्दा नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री भने सुरुवाती ११ मा नै स्थान बनाउन असफल रहिन् ।

टोर्नाडोस वुमन्सको लागि सफायर्स वुमन्स विरुद्ध चार ओभर बलिङ गर्दा सिताले मात्र १९ रन दिएर एक विकेट हात पारिन् । उनले ३४ बलमा २२ रन बनाएकी ग्याबी लेविसलाई एलबीडब्लुको धरापमा पार्दै विकेट निकाल्न सफल भइन् ।

टोर्नाडोसको लागि नवौँ ओभर लिएर आएकी सिताले आफ्नो पहिलो ओभरमा मात्र पाँच रन खर्चिइन् । आफ्नो दोश्रो तथा टोलीको ११ औँ ओभरमा एक चौका सहित ६ रन दिएकी सिताले आफ्नो तेश्रो ओभरको तेश्रो बलमा चौका खाए पनि त्यस पछिको बलमा लेविसलाई पेभेलियनको बाटो देखाउन सफल रहिन् । उनले आफ्नो चौथो तथा अन्तिम ओभरमा दुई सिंगल मात्र खर्चिन् । 

सिताको किफायती बलिङको मद्दतमा टोर्नाडोसलेले साफायर माथि १७ रनको सहज जित दर्ता गरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको टोर्नाडोसले २० ओभरमा सात विकेट गुमाएर ११९ रन बनायो । १२० रनको सामान्य लक्ष्य सहित ब्याटिङमा आएको साफायरले पुरै २० ओभर खेले पनि आठ विकेट गुमाएर १०२ रन मात्र जोड्न सक्यो ।

टोर्नाडोसको जितमा उत्कृष्ट बलिङ गरेकी सिताले ब्याटिङ भने गर्ने अवसर पाउन सकिनन् ।

बार्मी आर्मीको टोलीमा रहेकी नेपाली टोलीकी कप्तान रुबिनाले स्पिरिट वुमन्ससँगको खेलमा सुरुवाती ११ मा स्थान बनाउन असफल रहिन् । 

 

Click to comment

Trending