Headline

आसिफको आक्रामक पारीमा जिम्बाब्वेसँगको शृंखला बराबरी गर्न सफल नेपाल  

Published

on

ओपनर आसिफ शेखले आक्रामक अर्धशतक प्रहार गरे पछि घरेलु नेपालले जिम्बाब्वे विरुद्धको तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा आठ विकेटको सहज जित हात पारेको छ ।

जितसँगै नेपाल र जिम्बाब्वे बीचको तीन खेलको शृंखला १-१ को बराबरीमा सकिएको छ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोश्रो खेल वर्षाका कारण रद्द हुन पुगेको थियो । त्यस्तै आजको खेलमा नेपालले जित निकाल्दा जिम्बाब्वेको शृंखला जित्ने आशामा धक्का लाग्यो । 

१३७ रनको मध्यम लक्ष्य नेपालले १५ दशमलब पाँच ओभर खेल्दै दुई विकेट गुमाएर जित हात पार्यो ।   

नेपालको जितमा विकेट किपर तथा ओपनर आसिफले अविजित रहँदै सर्वाधिक ८७ रन बनाए । ५४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे ।    

आसिफले अर्का ओपनर कुशल भुर्तेलसँग नौ दशमलब तीन ओभरमा ८८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । २६ बल खेल्दै समान २-२ चौका र छक्का प्रहार गरेका कुशलले ३४ रनको  योगदान दिए भने वसिर अहमदले पनि १० रन बनाए ।     

यस अघि टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालले जिम्बाब्वेलाई १३६ रनमा रोक्न सफल भयो । जिम्बाब्वेले पुरै २० ओभर खेल्दै सात विकेट गुमायो ।  

जिम्बाब्वेको तर्फबाट रन आउट हुनु अघि रोय कैयाले ४१ बलमा सात चौका सहित सर्वाधिक ४९ रन बनाए । त्यस्तै तडीवान्शे मरुमानीले २७, इन्नोसेन्ट कैयाले १४ रनको योगदान दिए भने लुक जोंग्वीले पनि अविजित रहँदै २३ रन बनाए ।   

जिम्बाब्वेलाई मध्यम योगफलमा रोक्ने क्रममा कप्तान सन्दिप लामिछानेले सर्वाधिक दुई विकेट लिए भने सोमपाल कामी र वसिर अहमदले पनि आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए । सन्दिपले चार ओभरमा २५ रन खर्चंदा चार ओभर नै बलिङ गरेका वसिर र सोमपालले क्रमश १८ र १९ रन दिए ।  

Click to comment

Trending