Headline

धोनीले कप्तानी सम्हालेको पहिलो खेलमा नै चेन्नाईको सहज जित 

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) को सुरुवातमा कप्तान छाडेका महेन्द्र सिंह धोनीले फेरी कप्तानी सम्हालेको खेलमा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदराबाद माथि १३ रनको सहज जित निकालेको छ ।

सुरुवाती सिजन देखि नै कप्तानी सम्हालेका धोनीले यसै सिजनको सुरुवातमा कप्तानी छाड्दा चेन्नाईले रविद्न जडेजालाई कप्तान नियुक्त गरेको थियो । तर सुरुवाती आठ खेलमा चेन्नाईले खराब प्रदर्शन गर्दा जडेजाले कप्तानीबाट राजिनामा दिएका थिए भने धोनीलाई पुन कप्तानीको जिम्मा दिइएको हो ।

जारी सिजन नवौँ खेलमा चेन्नाईको यो तेश्रो जित हो । यस अघि आठ खेलमा दुई जित मात्र निकाल्न सकेको चेन्नाई ६ अंकका साथ अंक तालिकाको नवौँ स्थानमा यथावत रहेको छ । आजको खेलमा जितबाट बञ्चित बनेको हैदराबादले अंक तालिकाको तेश्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

चेन्नाईले दिएको २०३ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको हैदराबादले पुरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १८९ रन मात्र जोड्न सक्यो ।

हैदराबादको तर्फबाट पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका निकोलस पुरनले ३३ बल खेल्दै तीन चौका र ६ छक्काको मद्दतमा अविजित ६४ रन बनाए भने कप्तान केन विलियमसनले ४७ तथा अभिषेक शर्माले ३९ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

कप्तान विलियमसन र अभिषेकले पहिलो विकेटका लागि पाँच दशमलब पाँच ओभरमा ५८ रन जोड्दै हैदराबादलाई राम्रो सुरुवात दिलाए । राहुल त्रिपाठी गोल्डेन डक-आउट, ऐडेन मार्क्रम १७, शशांक सिंह १५ तथा वाशिंगटन सुन्दर दुई रनमा आउट हुँदा हैदराबादले दुई अंक जोड्ने अवसर गुमायो ।    

अन्तिम १२ बलमा निकोलस पुरनले १२ बलमा ३६ रन जोड्दै हैदराबादलाई जित नजिक पुर्याए पनि जित भने दिलाउन सकेनन् ।

चेन्नाईका मुकेश चौधरीले सर्वाधिक चार विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा दुई विकेट गुमाएर २०२ रनको विशाल योगफल बनायो । 

चेन्नाईको लागि शतक बनाउनबाट एक रनले चुकेका ओपनर रुतुराज गायकवाडले सर्वाधिक ९९ रन बनाए भने अर्का ओपनर डेवन कन्वेले अविजित रहँदै ८५ रनको पारी खेले । ५७ बलमा समान ६-६ चौका प्रहार गरेका गायकवाड र ५५ बलमा आठ चौका र चार छक्का प्रहार गरेका कन्वेले पहिलो विकेटका लागि १७ दशमलब पाँच ओभरमा १८२ रनको साझेदारी गर्दै चेन्नाईलाई उत्कृष्ट सुरुवात दिए ।

गायकवाडको पतन पछि क्रिजमा आएका कप्तान महेन्द्र सिंह धोनीले आठ रन भन्दा जोड्न सकेनन् भने पुर्व कप्तान रविन्द्र जडेजाले अविजित एक रन मात्र बनाए ।

हैदराबादका टि नटराजनले दुई विकेट लिए भने अन्य बलर विकेट बिहिन रहन पुगे ।    

 

Click to comment

Trending