Headline

मोहसिनको घातक बलिङमा लखनउको रोमान्चक जित 

Published

on

मोहसिन खानले घातक बलिङ गर्दा लखनउ सुपर जायन्ट्ले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४५ औँ खेलमा दिल्ली क्यापिटल्स माथि ६ रनको रोमान्चक जित हात पारेको छ । 

१९६ रनको विशाल लक्ष्य सहित ब्याटिङमा आएको दिल्लीले पुरै २० ओभर खेल्दै सात विकेट गुमाएर १८९ रन मात्र जोड्न सक्यो ।  

ओपनरद्वय पृथ्वी श पाँच तथा डेविड वार्नर तीन रनमा आउट हुँदा खराब सुरुवात गरेको दिल्लीको लागि मिचेल मार्श र कप्तान ऋषभ पन्तले तेश्रो विकेटका लागि २५ बलमा आक्रामक ६० रन जोड्दै पारी सम्हाल्ने प्रयास गरे । 

२० बलमा समान ३-३ चौका र छक्का सहित ३७ रन जोडेका मार्शको विकेटको पतन पछि क्रिजमा आएका ललित यादवले पनि तीन रन भन्दा जोड्न सकेनन् । पन्तले रोवमन पावेलसँग ३५ रनको साझेदारी गर्दै दिल्लीको स्कोरलाई अघि बढाए पनि ३० बलमा ४४ रन जोडेका पन्त र २१ बलमा ३५ रन प्रहार गरेका पावेलको विकेटको पतन पछि दिल्ली दबाबमा पर्यो ।

१७ औँ ओभरमा सात विकेट गुमाएर १४८ रन मात्र जोड्न सकेको दिल्लीको लागि अक्सर पटेल र कुलदिप यादवले अन्तिम २० बलमा आक्रामक ४० रन जोड्न सफल भए पनि जित भने दिलाउन सकेनन् । अविजित रहेका पटेल र यादवले क्रमश २४ बलमा ४२ तथा आठ बलमा १६ रन जोडे ।

लखनउको जितमा मोहसिन खानले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे ।   

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको लखनउले २० ओभरमा तीन विकेट गुमाएर १९५ रनको विशाल योगफल बनायो ।

लखनउको तर्फबाट कप्तान केएल राहुलले ५१ बलमा सर्वाधिक ७७ रन बनाए भने दिपक हूडाले पाएँ ३४ बलमा ५२ रनको पारी खेले । ओपनिङमा आएका राहुलले अर्का ओपनर तथा विकेट किपर क्विन्टन डि कक (२३ रन ) सँग मिलेर पहिलो विकेटका लागि २६ बलमा ४२ रन जोड्दै लखनउलाई राम्रो सुरुवात दिए । 

डि ककको विकेटको पतन पछि ब्याटिङमा आएका हूडासँग राहुलले ६१ बलमा ९५ रनको साझेदारी गरे । राहुलले चार चौका र पाँच छक्का तथा हूडाले ६ चौका र एक छक्का प्रहार गरे ।

त्यस बाहेक अविजित रहेका मार्कस स्टोइनिस र कुर्नाल पान्ड्याले क्रमश १६ बलमा समान १-१ चौका र छक्का सहित १७ र ६ बलमा नौ रनको योगदान दिए ।

दिल्लीका शार्दुल ठाकुरले लखनउका खसेका सबै विकेट हात पारे भने अन्य बलर बिकेट निकाल्न असमर्थ रहे । चार ओभरमा ४० रन दिएका ठाकुरले तीन विकेट लिएका हुन् ।           

Click to comment

Trending