Headline

ओपनर मरुमानी र कप्तान मुन्योंगाले अर्धशतक प्रहार गर्दा नेपाल माथि जिम्बाब्वेको सहज जित

Published

on

ओपनर तडीवान्शे मरुमानी र कप्तान टोनी मुन्योंगाले अर्धशतक प्रहार गर्दा जिम्बाब्वे ए ले घरेलु टोली नेपालसँगको पहिलो ट्वान्टी ट्वान्टी खेलमा ६ विकेटको सहज जित हात पारेको छ । जितसँगै जिम्बाब्वे ए ले तीन खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ ।    

नेपालले दिएको १८२ रनको विशाल लक्ष्य जिम्बाब्वेले १८ दशमलब पाँच ओभर खेल्दै चार विकेट गुमाएर लक्ष्य पार गर्यो । 

जिम्बाब्वेको जितमा मरुवानीले ४१ बल खेल्दै समान ३-३ चौका र छक्काको मद्दतमा सर्वाधिक ५६ रन बनाए भने कप्तान मुन्योङ्गाले वसिर अहमदको बलमा कट एण्ड बोल्ड हुनु अघि २३ बल खेल्दै आक्रामक ५० रन बनाए । उनले आफ्नो पारीमा सात सात छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर इनोसेन्ट कैयाले पनि ३० बलमा ४७ रनको योगदान दिए ।

नेपालले वसिरले तीन दशमलब पाँच ओभरमा २२ रन खर्चिएर सर्वाधिक दुई विकेट लिए भने करण केसीले तीन ओभरमा ३५ रन तथा कप्तान सन्दिप लामिछानेले चार ओभरमा ५० रन दिएर समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।     

यस अघि टीयू क्रिकेट मैदानमा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १८१ रनको विशाल योगफल बनाउन सक्यो ।

ओपनर तथा विकेट किपर आसिफ शेख १६ बल खेल्दै मात्र नौ रन बनाएर आउट भए पनि अर्का ओपनर कुशल भुर्तेल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी तथा आदिलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई ठुलो योगफल सम्म डोर्याए । कुशलले ३१ बलमा ४६, रोहितले २६ बलमा ३६ तथा दुर्भाग्यपूर्ण रन आउट भएका दिपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रनको योगदान दिए । नेपालको तर्फबाट सर्वाधिक रन जोडेका आदिलले २७ बल खेल्दै चार चौका र तीन छक्काको मद्दतमा अविजित ४७ रनको पारी खेले ।

त्यस बाहेक आरिफ शेखले दुई रन मात्र जोड्न सके भने अविजित रहेका करण केसीले पनि चार रनको पारी खेले ।  

जिम्बाब्वेका ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डन मवुता र जोन मसाराले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।   

Click to comment

Trending