Headline

पाँच पटकको च्याम्पियन मुम्बईको पहिलो जित 

Published

on

पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित दर्ता गराएको छ । लगातार आठ खेलमा पराजय भोगेको मुम्बईले यस सिजनको आफ्नो पहिलो जित निकाल्ने क्रममा राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १५९ रनको लक्ष्य मुम्बईले १९ दशमलब दुई ओभर खेल्दै पाँच गुमाएर लक्ष्य पार गर्यो ।    

मुम्बईको जितमा सूर्य कुमार यादवले ३९ बल खेल्दै पाँच चौका र दुई छक्का सहित सर्वाधिक ५१ रन बनाए भने तिलक वर्माले पनि ३० बलमा ३५ रनको योगदान दिए । कप्तान रोहित शर्मा दुई तथा विकेट किपर इशान किशान २६ रनमा पेभेलियन फर्कँदा खराब सुरुवात गरेको मुम्बईको लागि यादव र वर्माले तेश्रो विकेटका लागि ५६ बलमा ८१ रन जोड्दै जित नजिक पुर्याए । 

तीन बलको अन्तरालमा यादव र वर्मा आउट भए पनि टिम डेविड र कायरन पोलार्डले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै मुम्बईलाई जितको मुख सम्म डोर्याए । अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक रहेको अवस्थामा पहिलो बलमा नै पोलार्ड आउट भए पनि दोश्रो बलमा ड्यानियल साम्सले छक्का प्रहार गर्दै मुम्बईलाई जारी सिजनको पहिलो दुई अंक दिलाए । डेविडले नौ बलमा अविजित २० रनको योगदान दिए ।      

यस अघि जश बटलरले अर्धशतक प्रहार गर्दा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५८ रनको मध्यम स्कोर जोड्यो ।

राजस्थानको लागि ओपनर बटलरले ५२ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन जोडे । त्यस बाहेक रविचन्द्रन अश्विनले नौ बलमा तीन चौका र एक छक्का सहित २१ रनको आक्रामक पारी खेले भने ड्यारेल मिचेलले १७, कप्तान सन्जु सामसनले १६ तथा देवदत्त पड्डीकलले १५ रनको योगदान दिए भने शिम्रन हेटमायरले ६ तथा रियान परागले तीन रन भन्दा जोड्न सकेनन् । 

रायली मेरेडिथले चार ओभरमा २४ तथा ऋतिक शौकिनले समान २-२ विकेट हात पार्दा कुमार कार्तिकेय र डेनियल साम्सले पनि समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

आजको जितसँगै अंक तालिकाको १० औँ स्थानमा रहेको मुम्बईले पहिलो अंक जोड्न सफल भएको हो । आजको हारले राजस्थानले पहिलो स्थानमा रहेको गुजरातसँगको अंक दुई घटाउन तथा तेश्रो स्थानको लखनउसँग दुई अंकको स्पष्ट अग्रता लिने मौका गुमायो ।    

Click to comment

Trending