Headline

पूर्व कप्तानको टोलीसँग हार्यो पन्जाब

Published

on

१५४ रनको सामान्य लक्ष्य पछ्याउँदा पनि पन्जाब किंग्सले पुर्व कप्तान केएल राहुलको टोली लखनउ सुपर जायन्ट २० रनको हार व्यहोरेको छ ।

आजको हार पछि पन्जाब इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफबाट लगभग बाहिरिएको छ तर पनि उसको गणितीय सम्भावना मात्र बाँकी रहेको छ । उता आजको खेलमा सहज जित निकाल्दा लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नवौँ खेलमा पन्जाबको यो पाँचौँ हार हो भने नौ खेल नै खेलेको लखनउले छैटौँ जित दर्ता गराउन सफल भयो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा आठ विकेट गुमाएर १५३ रनको सामान्य योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १३३ रन मात्र जोड्न सक्यो ।

पन्जाबलाई रोक्दै लखनउलाई सहज जित दर्ता गराउने क्रममा मोहसिन खानले चार ओभरमा २४ रन दिएर सर्वाधिक तीन विकेट लिए भने दुश्मन्था चमिराले पनि चार ओभर बलिङ गर्दा १७ रन खर्चिएर दुई विकेट हात पारे । लखनउको जितमा खेलको प्लेयर अफ द म्याच घोषित भएका कुर्नाल पान्ड्याले किफायती बलिङ गर्दै चार ओभरमा एक मेडन सहित मात्र ११ रन दिएर महत्वपूर्ण दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

पन्जाबको लागि जोनी बेयरस्टोले सर्वाधिक ३२, कप्तान मायंक अगरवालले २५, ऋषि धवनले २१ तथा लियाम लिविंगस्टोनले १८ रनको पारी खेल्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यस अघि १३ रनको अन्तरालमा पाँच विकेट गुमाउँदा लखनउले ठुलो योगफल जोड्न सकेन । कप्तान तथा ओपनर केएल राहुल ६ रनमा आउट भए पनि अर्का ओपनर तथा विकेट किपर क्विनटन डि कक र तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका दिपक हूडाले ८५ रनको साझेदारी गर्दै लखनउको पारी सम्हाले ।

३७ बलमा सर्वाधिक ४६ रन जोडेका डि कक र २८ बलमा २४ रन बनाएका हूडा लगातार दुई ओभरमा पेभेलियन फर्किए भने त्यस पछि आएका कुर्नाल पान्ड्या सात, मार्कस स्टोनिस एक तथा आयुष बदोनी चार रनमा आउट हुँदा लखनउ १५ दशमलब तीन ओभरमा ६ विकेटको क्षतीमा १११ रनको अवस्थामा खुम्चिन पुग्यो ।

त्यस पछि ब्याटिङमा आएका दुश्मन्था चमिराले १७, मोहसिस खानले ६ बलमा अविजित १३ तथा जेसन होल्डरले ११ रनको पारी खेल्दै लखनउलाई १५० को स्कोर पार गराउन सफल भए ।

पन्जाबका कागिसो रबाडाले सर्वाधिक चार तथा राहुल चाहरले दुई विकेट हात पारे । 

   

Click to comment

Trending