Headline

“आईपीएलबाट आफ्नो नाम फिर्ता लिउ”

Published

on

भारतीय क्रिकेट टोली तथा इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज रोयल च्यालेन्जर्स बेंगलोरका पूर्व कप्तान विराट कोहली आफ्नो खेल जीवनको सायद सबैभन्दा खराब फर्मबाट गुज्रिरहेका छन् ।

जारी सिजन नौ खेल खेल्दा कोहलीले १६ को औसतमा मात्र १२८ रन जोड्न सफल भएका छन् । उनले यस सिजन चार खेलमा दोहोरो अंकमा रन जोड्दा बाँकी पाँच खेलमा एक अंकको मात्र स्कोर बनाउन सके । त्यस्तै उनी लखनउ र हैदराबादसँगको लगातार दुई खेलमा गोल्डेन डकआउट भए ।

धेरै क्रिकेट पण्डितहरूले कोहलीको खराब फर्म केही समय मात्र चल्ने र उनी अझै सशक्त ब्याटर बनेर फर्कने विश्वास गर्दा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्री भने कोहलीले आईपीएलबाट विश्राम लिन पर्ने धारणा व्यक्त गरेका छन् ।         

शास्त्रीले कोहलीलाई आफ्नो खराब फर्मबाट मुक्ति पाउनका लागि जारी सिजनबाट आफ्नो नाम फिर्ता लिन सुझाएका हुन् । 

“मेरो विचारमा कोहलीले केही समय क्रिकेटबाट विश्राम लिन पर्दछ । उनले भारतको लागि टेस्ट, एकदिवसीय र ट्वान्टी ट्वान्टीमा साथै आईपीएलबाट पनि लामो समय खेलेका छन् । जीवनमा कुनै समय यस्तो अवस्था आउँछ जहाँ तपाईंले सबै कुराको सन्तुलन मिलाउन पर्ने हुन्छ,” शास्त्रीले भने । “कोहलीले यदि आफ्नो खेल जीवनको ख्याल राख्छन् भने उनले जारी सिजन आईपीएलबाट आफ्नो नाम फिर्ता लिन पर्दछ ।”   

शास्त्रीले चर्चित र धनी क्रिकेट प्रतियोगिता सबै खेलाडीले खेल्नै पर्छ भन्ने नरहेको र आफ्नो मानसिक स्वास्थ्यका लागि क्रिकेटबाट विश्राम लिन पर्ने पनि बताए । क्रिकेट कमेन्टेटर समेत रहेका उनले कोहलीलाई पैसा नहेर्न र बाँकी सिजनबाट आफ्नो नाम फिर्ता लिन पनि सुझाए ।

“कोहलीले बेंगलोर फ्रेन्चाइजलाई गएर आधा सिजनको पैसा दिन भन र बाँकी रहेको खेलहरु खेल्न नसक्ने भन्न पर्दछ । कोहलीसँग अझै धेरै क्रिकेट बाँकी रहेको छ । कहिले काहीँ कठिन र क्रूर निर्णय पनि लिन पर्दछ । अहिले कठिन लागे पनि कोहलीले भविष्यमा पहिलेको जस्तै प्रदर्शन जारी राख्न केही समय खेलबाट टाढा रहने निर्णय लिनै पर्दछ ।” 

Click to comment

Trending