Headline

मलिकले पाँच विकेट लिए पनि रशिद खान र राहुल टेवाटियाको तुफानी पारीमा गुजरातको सनसनीपूर्ण जित 

Published

on

तीब्र गतिका बलर उमरान मलिकले घातक बलिङ गर्दै पाँच विकेट लिए पनि राहुल टेवाटियारशिद खानले अन्तिम २४ बलमा अविजित ५९ रनको साझेदारी गर्दा गुजरात टाइटान्सले सनराइजर्स हैदराबाद माथि पाँच विकेटको सनसनीपूर्ण जित हात पारेको छ । 

जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ भने आजको खेलमा हारको सामना गरेको हैदराबादले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने उ तेश्रो स्थानमा सीमित हुन बाध्य भएको छ । आठ खेलमा गुजरातको यो सातौँ जित हो भने आठ खेल नै खेलेको हैदराबादको यो तेश्रो हार हो । सुरुवाती दुई खेलमा हार व्यहोरेको हैदराबादले त्यस पछिका पाँच खेलमा जित निकालेको थियो ।

हैदराबादले दिएको १९६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले आफ्नो पारीको अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य पार गर्यो ।

१६ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर १४० रन मात्र जोड्न सक्दा हार नजिक पुगेको गुजरातको जितका नायक बने राहुल टेवाटियारशिद खान । उनीहरुले अन्तिम २४ बलमा अविजित ५९ रन जोड्दै गुजरातलाई महत्वपूर्ण दुई अंक दिलाए । टेवाटियाले २१ बलमा चार चौका र दुई छक्का सहित अविजित ४० रन बनाए भने ११ बल मात्र खेल्दा रशिदले चार छक्का सहित अविजित ३१ रनको तुफानी पारी खेले । 

अन्तिम ओभरमा जितका लागि २२ रन आवश्यक रहेको अवस्थामा टेवाटियाले पहिलो बलमा छक्का प्रहार गरे भने रशिदले मार्को यानसनको अन्तिम चार बल मध्य तीन बलमा छक्का प्रहार गर्दा हैदराबादको शिर्ष स्थानमा उक्लने सपनामा तुसारोपात लग्यो ।

गुजरातको जितमा टेवाटियारशिद बाहेक ओपनर तथा विकेट किपर रिद्दीमन साहाले ३८ बलमा ११ चौका र एक छक्का सहित सर्वाधिक ६८ रनको पारी खेले भने अर्का ओपनर शुबमन गिल २२, डेविड मिलर १७ तथा कप्तान हार्दिक पान्ड्याले १० रनको योगदान दिँदा अभिनव मनोहर गोल्डेन डकआउट हुन पुगे ।     

यस सिजन निकै उत्कृष्ट बलिङ प्रदर्शन गर्न सफल भएका उमरान मलिकले चार ओभरमा २५ रन दिएर सर्वाधिक पाँच विकेट निकाल्न सफल भए पनि अन्य बलरहरुले विकेट हात पार्न नसक्दा हैदराबाद जित दर्ता गर्न पनि असफल रह्यो । हारको बाबजुद मलिक खेलको प्लेयर अफ द म्याच घोषित भए ।  

यस अघि ओपनर अभिषेक शर्मा र मध्यक्रमका ब्याटर ऐडेन मार्क्रमले अर्धशतक प्रहार गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १९५ रनको विशाल योगफल बनाउन सफल भयो ।

हैदराबादको तर्फबाट शर्माले ४२ बल खेल्दै ६ चौका र तीन छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए भने मार्क्रमले ४० बलमा दुई चौका र तीन छक्का सहित ५६ रनको पारी खेले । कप्तान केन विलियमसन पाँच रन तथा राहुल त्रिपाठी १६ रन बनाएर आउट भए पनि शर्मा र मार्क्रमले तेश्रो विकेटका लागि ६१ बलमा ९६ रन जोड्दै हैदराबादको पारी सम्हाले ।

मध्यम योगफलमा रोकिने अवस्थामा रहेको हैदराबादको लागि शशांक सिंहले ६ बल खेल्दै एक चौका र तीन छक्का सहित अविजित २५ रन प्रहार गर्दै विशाल योगफल सम्म पुर्याउन सफल भए । उनले पाँच बलमा अविजित आठको पारी खेलेका मार्को यानसनसँग सातौँ विकेटका लागि मात्र ११ बलमा ३३ रनको साझेदारी गरे ।

गुजरातका मोहम्मद शामीले चार ओभरमा ३९ रन दिएर सर्वाधिक तीन विकेट हात पार्दा यश दयाल र अल्जारी जोसेफले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।यस अघिका खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न सफल भएका रशिद खानले चार ओभरमा ४५ रन खर्चदा विकेट निकाल्न असफल रहे ।

 

Click to comment

Trending