Headline

च्याम्पियन्स लिग सेमिफाइनलः गोलको बर्षा भएको खेलमा सिटीले रियल म्याड्रिडलाई हरायो

Published

on

च्याम्पियन्स लिगको निकै नै सनसनीपूर्ण सेमिफाइनलमा रियल म्याड्रिडलाई पराजित गर्दै म्यानचेस्टर सिटीले पहिलो लेगमा एक गोलको झिनो अग्रता लिएको छ ।

एतिहाद स्टेटियममा भएको खेलमा सिटीले रियललाई ४–३ ले पराजित गर्यो । खेल शुरु भएको दोश्रो मिनेटमै सिटीले अग्रता लिएको थियो । रियाद माह्रेजको असिस्टमा केभिन डि ब्रुनले पहिलो गोल गरेका थिए ।

९ मिनेटपछि यसअघि प्रिमियर लिगमा वाटफोर्डबिरुद्ध एकै खेलमा चार गोल गरेका ग्याब्रियल जिजसले डि ब्रुनको पासमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । यो सिजन आफ्नो करिअरकै उच्च लयमा देखिएका करिम बेन्जेमाले रियललाई खेलमा फर्काए ।

बेन्जेमाले ३३ औं मिनेटमा फर्नाण्ड मेन्डीको पासमा गोल गरे । दोश्रो हाफ शुरु भएको ८ मिनेटपछि नै सिटीले दोब्बर अग्रतालाई कायम राख्न सफल भयो । यसपटक फिल फोडेनले फर्नान्डिनोको क्रसमा गोल गरेका थिए ।

तर दुई मिनेट भित्रै रियल खेलमा फर्कियो । भिनिसियस जुनियरले फर्लाण्ड मेन्डीको असिस्टमा रियलका लागि दोश्रो गोल गरे । दुवैतर्फ बाट आक्रमणले भरिपूर्ण खेलमा सिटीले चौथो गोल पनि फर्कायो । ७४ औं मिनेटमा बर्नार्डो सिल्भाले ओलेक्जेण्डर जिनचेन्कोको पासमा गोल गरे ।

तर बेन्जेमाले ८२ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै रियललाई दोश्रो लेगका लागि फाइनल यात्रामा कायमै राख्न सफल भए । बेन्जेमाको च्याम्पियन्स लिगमा यो सिजन १४ गोल भइसकेको छ ।

बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई उनले यो सिजन एक गोलले पछि पारिसकेका छन् । बेन्जेमाले एकै सिजन सबैभन्दा बढी च्याम्पियन्स लिग गोल गर्ने आफ्नो नयाँ किर्तिमान यसअघि नै तोडिसकेका थिए । यसअघि उनले एकै सिजन सबैभन्दा बढी ७ गोल गरेका थिए ।

Click to comment

Trending